
अत्तरिया : गोदावरी नगरपालिकाले नगर भित्र रहेका नगर शिक्षक,लेखापाल र कार्यालय सहयोगीहरुका समाजिक सुरक्षा कोषमा आवद्ध गराउने कामको शुभारंभ गरेको छ।
शुक्रबार गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की बिच नागरिक पेन्सन योजना सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। गोदावरी नगरपालिका योगदानमा आधारित नगर शिक्षक पेन्सन योजना लागू गर्ने देशकै पहिलो पालिका रहेको छ।
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शिक्षक तथा कर्मचारीहरूको अवकाश पछिको जीवन सुरक्षित बनाउन यस्तो पहल गरिएको बताए। उनले गोदावरी नगरपालिकाका शिक्षक र कर्मचारीहरूलाई नागरिक लगानी कोषमा आबद्ध गराइएको छ। कोषले सञ्चालन गर्दै आएको योगदानमा आधारित पेन्सन योजना अन्तर्गत न्यूनतम मासिक ५ सय रुपैयाँदेखि बचत गर्न सकिने व्यवस्था छ। ६० वर्ष पूरा भई कम्तीमा १५ वर्ष योगदान गरेका सदस्यहरूले पेन्सन प्राप्त गर्न सक्नेछन् ।
कार्कीले नागरिक लगानी कोष नेपाल सरकारको स्वामित्वमा स्थापना भएको संस्था भएको जानकारी दिए। उक्त कोषमा सरकारको शेयर रहेको छ भने विभिन्न बैंक, वित्तीय संस्था, बीमा कम्पनीहरू तथा सर्वसाधारणको समेत शेयर रहेको छ।
कोषले हालसम्म २७० अर्ब बराबरको कारोबार गरिसकेको र सो रकमलाई विभिन्न क्षेत्रहरूमा लगानी गर्दै आएको जानकारी उनले दिए।
“अहिलेको सानो योगदानले भविष्यमा ठूलो सहारा बन्न सक्छ भन्ने बुझ्न आवश्यक छ,” उनले भने, “स्वआर्जनमा आश्रित सम्पूर्ण व्यक्तिहरूले पनि यस योजनामा सहभागी हुन सक्ने छन्।” कोषमा सहभागी हुन अनलाइन फाराम समेत उपलब्ध रहेको उनले जनाए।
शुभारम्भ समारोहमा बोल्दै नगर प्रमुख विरेन्द्र भट्टले नगरभित्रका १ सय ४२ जना नगर शिक्षकहरूलाई नागरिक लगानी कोषमा आबद्ध गर्दै पेन्सन योजना सञ्चालनमा ल्याइएको घोषणा गरेका छन्। उनले स्वास्थ्यमा पहुँच विस्तार र शिक्षामा गुणस्तर वृद्धि गर्नु नगरपालिकाको प्राथमिकता भएको स्पष्ट पारे।
नगर प्रमुख भट्टका अनुसार, नागरिक लगानी पेन्सन योजनाले नगर शिक्षक र कर्मचारीहरूको भविष्य सुरक्षित बनाउन मद्दत गर्नेछ। नगरपालिकाले वार्षिकरूपमा ३० लाख रुपैयाँ उक्त कोषमा बचत गर्दै आएको जानकारी दिंदै उनले यस योजनाले शिक्षकहरूलाई केही हदसम्म आत्मनिर्भर बन्ने आधार पनि तयार पार्ने विश्वास व्यक्त गरे।
उनले भने, हामी शिक्षामा गुणस्तर चाहन्छौं, तर शिक्षकहरूलाई उत्साहित गर्ने वातावरण बनाउन नसक्ने प्रवृत्ति देखिएको छ। अनुदानमा कार्यरत शिक्षकहरूको सुरक्षा सुनिश्चित गर्न उनीहरूलाई नगर शिक्षकको रूपमा राखिएको हो।
उनका अनुसार स्थानीय सरकारसँग जिम्मेवारी धेरै भए पनि स्रोत र साधनको अभावमा कार्यान्वयनमा चुनौतीहरू छन्। यस्ता योजनाले नगर शिक्षक र कर्मचारीहरूलाई केही राहत मिल्ने विश्वास उनले व्यक्त गरे। साथै, उनले दुई वर्ष अघिदेखि नै उक्त योजना सञ्चालन गर्ने प्रयास गरिएको उल्लेख गर्दै आगामी दिनमा शिक्षकहरूको थप मनोबल अभिवृद्धिका लागि यस्ता योजनाहरू ल्याइने प्रतिबद्धता पनि जनाए।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले केही रकम पलिकाले र केही रकम नगर शिक्षकले भविष्यमा सुरक्षालाई सुनिश्चतता गर्ने हिसाबले थप आय आर्जन तर्फ उन्मुख गर्न नगर शिक्षक, लेखापाल,कार्यालय सहयोगी कर्मचारीहरुलाई नागरिक लगानी कोष पेन्सनमा आबद्ध गरिएको बताए।
नगरपालिकाले उदाहरणीय नमूना योग्य कार्यक्रमको शुभारंभ गरेको साथै पेन्सन संग आबद्ध भएर परिवार, पेशागत मर्यादित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास रहेको बताए।
यस्तै शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले नगरभित्र कार्यरत नगर शिक्षकहरूको तलबबाट मासिक पाँच सय रुपैयाँ रकम कट्टी भई लगानी कोषमा जम्मा गरिने छ । जोशीले यो पहलले शिक्षकहरूको दीर्घकालीन सामाजिक सुरक्षामा सहयोग पुग्ने र शिक्षाको गुणस्तरमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार सामाजिक सुरक्षामा पहुँच बढ्दा शिक्षकहरूको पेशागत समर्पण र मनोबलमा वृद्धि हुने बताए।
समझदारीपत्रमा नगर प्रमुख बिरेन्द्र भट्ट, उप–प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, वडा अध्यक्षहरू, साथै नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की, उप–निर्देशक नारायण प्रसाद घिमिरे, र शाखा प्रमुख हरिशचन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
