
अत्तरिया, २० वैशाख : कैलालीको गोदावरी नगरपालिका–२,अत्तरियाको लोटस गल्लीमा निर्माण गरिएको ‘बिग बुल फिटनेस एण्ड जुम्बा’ जिम हलको उद्घाटन गरिएको छ । सञ्चालकका अनुसार सुदूरपश्चिमकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधा सम्पन्न जिम हल हो । जिम हलको शनिबार एक कार्यक्रमका बीच गुलरिया वनदेवी मन्दिरका लोमस गिरी महाराजद्वारा रिबन काटेर उद्घाटन गरिएको हो ।
चार जना युवा व्यवसायीको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको जिममा अत्याधुनिक जिम उपकरणहरूका साथै जुम्बा अभ्यासको सुविधा समेत उपलब्ध छ । झण्डै ३ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको क्लब सुदूरपश्चिममा सबैभन्दा ठूलो लगानीमा स्थापना भएको जिम दावी गरिएको छ ।
सञ्चालक राजु भट्टराईले स्वास्थ्यप्रति जनचेतना बढ्दै गइरहेका बेला अत्तरियामा यस्तो सुविधा आवश्यक रहेको बताए । उनले बिग बुल जिमले युवापुस्तालाई फिटनेसप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
भट्टराईले स्वास्थ्यप्रति सचेत बनाउने उद्देश्यले अत्याधुनिक उपकरणसहितको जिम र फिटनेस हल सञ्चालनमा ल्याएको उल्लेख गरे ।
यस्तै अर्का सञ्चालक तथा फिटनेस प्रशिक्षक रञ्जित लामाले आधुनिक जिमका सबै उपकरणहरू समेटिएको यो हल स्वास्थ्यप्रेमीहरूका लागि उपयोगी हुने बताए । उनले व्यवसायिक उद्देश्यभन्दा पनि जनस्वास्थ्यलाई प्राथमिकता दिँदै यो सेवा सुरु गरिएको स्पष्ट पारे । फिटनेस, जिम र जुम्बाजस्ता सेवा सुविधासहितको व्यायामशालाले स्वास्थ्यप्रेमी, खेलप्रेमी र युवाहरूलाई लक्षित गर्दै उच्चस्तरीय सेवा प्रदान गर्ने विश्वास गरिएको छ ।
बिगबुल फिटनेसमा जिम, कार्डियो, स्ट्रेन्थ ट्रेनिङ, जुम्बा, लगायतका विविध कार्यक्रमहरू उपलब्ध रहेको साथै जिममा आधुनिक फिटनेस उपकरणहरू जडान गरिएको छ । जुन अन्तर्राष्ट्रिय स्तर अनुसारका रहेका छन् । जिम हलमा वैशाख महिनाभरि आउने सेवाग्राहीहरूलाई निःशुल्क भर्ना सुविधा प्रदान गरिएको छ ।
