
अत्तरिया : साताव्यापी औपचारिक भारत भ्रमण सकेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय उच्चस्तरीय सरकारी टोली स्वदेश फर्किएको छ।
मुख्यमन्त्री शाह नेतृत्वको टोली लखनउबाट स्थलमार्ग हुँदै आज स्वदेश फर्किएको हो। टोलीलाई कार्यवाहक मुख्यमन्त्री बहादुरसिंह थापा, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरूलगायतले गौरिफन्टा भन्सारमा स्वागत गरे।
टोली वैशाख १६ गते भारतको औपचारिक भ्रमणमा गएको थियो। टोलीले दिल्ली, देहरादुन र लखनउको भ्रमण गर्यो। भारत भ्रमणका क्रममा मुख्यमन्त्री शाहले भारतका विदेश राज्यमन्त्री किर्ती बर्धन सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी र गभर्नर गुरमित सिंहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
भेटवार्तामा दुवै देशबिचको पारस्परिक सम्बन्ध, सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताका विषय छलफलकेन्द्रित रहेको र वर्षौँदेखिको आपसी एकता र विश्वासलाई अझ बलियो बनाउने विषयमा छलफल भएको थियो । यसैगरी, मुख्यमन्त्री शाहले उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महराज, वनमन्त्री सुवोध उनियाल र कृषिमन्त्री गणेश जोशीसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए। दुवै देशको तर्फबाट मुख्यमन्त्री स्तरीय औपचारिक विदेश भ्रमण पहिलो पटक थियो।
भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही रहेका थिए। यसैगरी नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा थिए।
