Agni Offset Press

माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद कायमै

Aarati simant

अत्तरिया : लामो समयदेखि नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलमा देखिएको विवाद समाधान हुन सकेको छैन । विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीका प्रदेश सभा सदस्यलाई दुई पटक काठमाडौँ बोलाएर छलफल गर्दासमेत समस्या समाधान हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशका माओवादी प्रदेश सभा सदस्यबिच बुधबार हुने भनिएको छलफल पनि स्थगित भएको छ । संसदीय दलको विवादका विषयमा छलफल गर्न र समस्या हल गर्न अध्यक्ष प्रचण्डले बुधबार १ बजे माओवादीका सबै प्रदेश सभा सदस्यलाई खुमलटार बोलाउनुभएको थियो तर अचानक अन्तिम समयमा छलफल स्थगित भएको सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले जानकारी दिए ।
२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादी केन्द्रमा विवाद सुरु भएको थियो । १६ महिनादेखि संसदीय दलको विवाद कायम छ । अध्यक्ष प्रचण्डले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्न दुई पटकसम्म लिखितपत्र पठाउँदा पनि निर्देशन कार्यान्वयन नभएपछि अहिले आफैँले त्यस विषयमा चासो राखेको हो । अघिल्लो १४ फागुनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेशका सबै प्रदेश सभा सदस्यलाई बोलाएर आफू कैलाली पुग्नभन्दा पहिल्यै संसदीय दलको विवाद टुङ्गो लगाउन निर्देशन दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भने पनि उनी दुई पटक कैलाली पुगिसकेका छन तर विवाद भने मिलेको छैन । संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुखबाहेकका १० प्रदेश सभा सदस्यमध्ये भट्टको पक्षमा चार जना सांसद र धामीको पक्षमा ६ रहेका थिए । धामीको पक्षमा रहेका शिवसिंह ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि पाँचरपाँच जना पुगेका छन् ।

अहिले भट्टको पक्षमा ओलीसहित, झपट साउद, रमेश धामी, जानकी पौडेल कुँवर छन भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट, लक्ष्मी विक र गीता रहेका छन । संसदीय दलका भट्टले बहुमत देखाउन सकेका छैन भने धामीले पनि थप सांसदलाई आफ्नो पक्षमा पार्न सकेको छैन । केन्द्रबाट दलको नेता परिवर्तनको पत्र आउँदा पनि प्रदेश सभा सदस्यले चासो नदिएपछि अहिले अध्यक्ष प्रचण्ड आफैँले सबै प्रदेश सभा सदस्यलाई काठमाडौँ बोलाएर सहमतिमै समाधान गर्न खोजेको बुझिएको छ तर प्रचण्ड अस्वस्थ भएकाले छलफल हुन नसकेको उनका सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.