चौरपाटी र ढकारीमा मायामेट्रो हस्पिटलको निशुल्क स्वास्थ्य शिविर

अत्तरिया, २८ बैशाख : धनगढीस्थित मायामेट्रो हस्पिटलले अछामको दुर्गम क्षेत्रहरूमा पुगेर आयोजना गरेको दुई दिवसीय विशेषज्ञ स्वास्थ्य शिविरमार्फत सयौं नागरिकलाई निःशुल्क सेवा प्रदान गरेको छ ।
स्वास्थ्य शिविर बैशाख २६ र २८ गते सम्पन्न गरेको हो । बैशाख २६ गते चौरपाटी गाउँपालिकामा सम्पन्न शिविरमा २८६ जनाले सेवा लिएका थिए । जसमध्ये २ सय १५ जना महिला र ७१ जना पुरुष थिए । सोही प्रकार, बैशाख २८ आईतबार ढकारी गाउँपालिकामा आयोजित शिविरमा ७ सय ८६ जनाले स्वास्थ्य सेवा लिए ।
शिविरमा महिलाहरूमा बढी देखिने रोगहरू, पुरुषहरूको लजाउँदै लुकाउने स्वास्थ्य समस्याहरू, र दीर्घकालीन पीडाका केसहरू उपचार गरिएको थियो । धेरैले घरमै बसेर रोग सहने प्रवृत्ति देखिएको अवस्थामा यस्तो शिविरले उनीहरूलाई प्रत्यक्ष लाभ दिएको स्थानीयहरू बताउँछन् ।
मायामेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र साउदका अनुसार, हाम्रो अस्पतालले सेवा मात्र होइन, सामाजिक दायित्व पनि समेटेको छ । दुर्गममा स्वास्थ्य सेवा पु¥याउनु हाम्रो कर्तव्य हो भन्ने मान्यता अनुसार हामी यहाँसम्म आएका हौं । सेवा नपाएर दुःख पाइरहेका नागरिकको अनुहारमा देखिएको सन्तुष्टि नै हाम्रो सफलता हो ।”
साउदले थपे, अस्पतालको प्रमोशन भन्दा पनि हामी समुदायको साथमा उभिन चाहन्छौं । हामी यसैगरी आगामी दिनमा पनि गाउँगाउँमा पुगेर स्वास्थ्य सेवा पु¥याउनेछौं ।’ यो शिविर सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय डोटीको आयोजनामा, अछामका चौरपाटी र ढकारी गाउँपालिकाको सहयोग र स्वास्थ्य कार्यालय अछामको समन्वयमा मायामेट्रो हस्पिटलको सहकार्यमा सम्पन्न भएको हो । स्वास्थ्य शिविरले दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँच अभावमा रहेका समुदायमा राहत पु¥याउनुका साथै, भविष्यमा अझ सशक्त र पहुँचयुक्त सेवा प्रवाह गर्नुपर्ने संकेत पनि दिएको छ । यस्तो स्वास्थ्य सेवा निरन्तर रूपमा भइरहेमा दुर्गमका जनताको स्वास्थ्यमा ठुलो सुधार आउने निश्चित छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.