अत्तरिया : कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा योग ध्यान कार्यक्रम सुरु गरिएको छ । २०८२ साल जेठ १ गतेबाट औपचारिक रुपमा सुरु भएको उक्त कार्यक्रम विद्यालय सभाहलमा सञ्चालन गरिएको हो ।
विद्यालयको आयोजनामा सुरु गरिएको ध्यान कार्यक्रम प्रत्येक बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ । शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रममा शिक्षक, विद्यार्थी तथा विद्यालयका कर्मचारीहरूको सहभागिता रहनेछ ।
कार्यक्रमको प्रमुख अतिथि पतञ्जली योग समितिका कैलाली जिल्ला अध्यक्ष तथा योगगुरु सुवास बम रहेका थिए । विशिष्ट अतिथिका रुपमा समितिका अत्तरिया अध्यक्ष दुर्गा प्रसाईंको उपस्थिति रहेको थियो । विद्यालयकी शिक्षिका सरस्वती पनेरुलाई सहजकर्ताको जिम्मेवारी दिइएको छ ।
विद्यालयका अध्यक्ष गणेश शाहका अनुसार विद्यालयमा अध्ययन–अध्यापनको निरन्तरता, शैक्षिक दबाव, थकान तथा विद्यार्थी र शिक्षकहरूमा देखिने मानसिक अस्थिरतालाई ध्यानमा राख्दै नियमित योग तथा ध्यान कार्यक्रमको थालनी गरिएको हो ।
यस्तो खालको अभ्यासले एकाग्रता बढाउनुका साथै सकारात्मक सोच विकास गर्न मद्दत पु¥याउने विश्वास गरिएको छ । विद्यालय परिवारलाई तनावमुक्त वातावरण प्रदान गर्नका लागि यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
यस कार्यक्रमले दीर्घकालीन रूपमा विद्यालयमा समग्र व्यक्तित्व विकासमा टेवा पु¥याउने विद्यालय पक्षको विश्वास छ ।
सम्बन्धित पाेस्टहरु