अत्तरिया, १ जेठ : नागरिक उन्मुक्ति पार्टीभित्र फेरि आन्तरिक विवाद चुलिएको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउने प्रस्तावसहित सरकारलाई पत्र पठाए पनि सो पत्र निष्प्रभावी बनेको छ । पार्टी संस्थापक रेशम चौधरीको पक्षले भने घनश्याम चौधरीलाई मन्त्री बनाउने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
पार्टी स्रोतका अनुसार अध्यक्ष रञ्जिताले हिजो कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गर्दै सुदूरपश्चिम प्रदेश सरकारसमक्ष औपचारिक पत्र पठाएकी थिइन् । तर, रेशम चौधरी पक्षले उक्त सिफारिसलाई मान्यता नदिँदै घनश्याम चौधरीको नाम अघि सारेको बताइएको छ ।
घनश्याम चौधरी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता हुन् । सुदूरपश्चिम सरकारमा उन्मुक्ति पार्टीको भागमा रहेको मन्त्रालय एक महिना बढी समयदेखि मन्त्रीविहीन थियो । मन्त्री पठाउने विषयमा नागरिक उन्मुक्तिभित्र लामो समयदेखि निर्णय भएको थिएन । धनगढीमा संरक्षक रेशमलाल चौधरीसहित अध्यक्ष श्रेष्ठ र सांसदहरूबिच यस विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन ।
मंगलवार प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकपछि प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अध्यक्ष श्रेष्ठलाई मन्त्रीको नाम सिफारिसका लागि पत्राचार गरेका थिए । त्यसको भोलीपल्ट बुधवार मन्त्री बन्ने सासंदको नाम टुङ्गो लगाइएको थियो ।
यसअघि पनि कैलाश चौधरीले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । नागरिक उन्मुक्तिबाटै यसअघि मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले लेनदेनसँग जोडिएको विषयमा अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए । सो स्थानमा उन्मुक्तिकै मन्त्री रहने गरी मुख्यमन्त्री कमलबहादुर शाहले नाम मागेका थिए ।
सिफारिस भएका सांसद चौधरीले प्रदेश संसदीय दलको नेतालाई समेत जानकारी गराई मन्त्रीका लागि आफ्नो नाम अध्यक्षबाट सिफारिस भई मुख्यमन्त्री कार्यालयमा गएको बताएका थिए । तर, रेशम पक्षले भने त्यो निर्णय अन्तिम निर्णय नभएको बताइएको छ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबिच विगत केहि समययता विवाद देखिँदै आएको छ । श्रीमान्, श्रीमतीसमेत रहेका श्रेष्ठ र चौधरीबिच विवाद हुँदा पार्टीसमेत गुटको सिकार बनेको बताइएको छ ।
सम्बन्धित पाेस्टहरु