भन्सार छलेर ल्याइएको साढे २५ लाखको सामान बरामद

अत्तरिया, १ जेठ : कैलालीमा भन्सार छली गरेर ल्याइएको साढे २५ लाख बराबरको अवैध सामान बरामद गरिएको छ । भारतबाट भन्सार छलेर ल्याइएको २५ लाख ५४ हजार चार सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार बुधबार साँझ साढे ७ बजेतिर जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले कैलारी गाउँपालिका–९, कोइलही ताल क्षेत्रबाट ती सामानहरू बेवारिसे अवस्थामा फेला पारेको हो ।
बरामद गरिएका सामग्रीमा चार सय पिस सुट, एक हजार ५१७ टप्स, ११२ वटा धोती, १० वटा पूजाको धोती, २० रोल थान कपडा, १० वटा सारी, पाँच वटा टावेल, एक रोल ब्लाउजको अस्तर लगायत छन् ।
प्रहरीले सबै सामानलाई त्रिनगर भन्सार कार्यालयमा बुझाउने जनाएको छ । प्रहरीका अनुसार भन्सार छलेर भारतबाट कपडा र लत्ताकपडाजन्य सामान नेपाल भित्र्याउने गतिविधि तीव्र रूपमा बढ्दै गएकाले त्यसविरुद्ध विशेष निगरानी र अभियान जारी राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.