फरक दलका प्रतिनिधिलाई बजेट नदिएको प्रमाण देखाए पद त्याग्न तयार : नगरप्रमुख भट्ट

अत्तरिया, १ जेठ : गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले फरक पार्टी भएको कारण बजेट नदिएको भनेर लगाइएको आरोप साबित भए राजीनामा दिने बताएका छन् । वडा नम्बर १ को वडा भेलालाई सम्बोधन गर्दै उनले कसैले फरक दलका प्रतिनिधिलाई बजेट नदिएको प्रमाण देखाए आफू तुरुन्त पद त्याग्न तयार रहेको घोषणा गरेका हुन ।
स्थानीय विकास दल, पद वा विचारभन्दा माथि उठेर सहकार्य र समन्वयबाट मात्र सम्भव हुने उनले स्पष्ट पारे । उनले भने, कसैले देखाइदिनुस् कि नेपाली कांग्रेसबाट निर्वाचित भएको कारण कसैलाई बजेट नदिएको छु, म अहिलेको अहिले राजीनामा दिन्छु ।’
समग्र नगरको विकासका लागी सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए । उनले विकासका कार्यक्रमहरू बारे सार्वजनिक रूपमा कार्यक्रमहरू लगायत विभिन्न क्षेत्रमा मात्र बोलेर नहुने, बरु नागरिक आफैं नगरपालिकामा आएर सल्लाह, सुझाव दिएर प्रत्यक्ष सहभागी भई छलफल गरी हातेमालो गर्न आवश्यक रहेको बताए ।
नगरप्रमुख भट्टले सीमित स्रोतसाधनमा काम गर्नुपर्ने चुनौती रहेपनि ढिलोचाँडो विकास सम्भव छ, त्यसका लागि सबैको धैर्यता र सहयोग अपरिहार्य रहेको बताए । उनले आफूले नगरप्रमुखको जिम्मेवारी सम्हालेदेखि नै जनताको विश्वास कायम राख्दै जिम्मेवार ढंगले काम गरिरहेको बताए । “नागरिकहरूले जुन ठाउँमा मलाई नगरप्रमुख बनाउनु भयो, त्यो क्षेत्रको विकासमा सधैं लागिरहेको र सदैव तत्पर रहने छु” उनले भने ।
उनले विकासको अभियानमा दल, विचार वा पदीय भूमिकाभन्दा माथि उठेर समग्र गोदावरीको हितमा एक भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै कार्यपालिकाको बैठकमा पनि सोही कुरा राखेको बताए । “निर्वाचित प्रतिनिधिले मात्र सबै काम गर्न सक्दैन, यसका लागि सबै क्षेत्रबाट सहकार्य हुन आवश्यक छ” उनले भने ।
नगरप्रमुख भट्टले गोदावरी नगरपालिका आगामी वर्ष कृषि आधुनिकीकरण तथा व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, गुणस्तरीय भौतिक पूर्वाधार सुधार, सामाजिक क्षेत्रको विकास, औद्योगिकीकरण, गरिबी निवारण र डिजिटल सेवा प्रवद्र्धनलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.