अत्तरिया, २ जेठ : गोदावरी नगरपालिका वडा नं ३ र ४ को वडा भेला सम्पन्न भएको छ । शुक्रबार वडाहरुले आयोजना गरेको ९ औं वडा भेलामा विभिन्न शीर्षकमा आगामी आर्थिक वर्ष २०८२\०८३ को नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै वडा भेला सम्पन्न गरेको हो । गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा वडा भेला सम्पन्न भएको छ । विशिष्ठ अतिथिमा नगर उप प्रमुख शारदा देवी रोकाया रहेकी थिइन् ।
नगर प्रमुख विरेन्द्र भट्टले सबै वडाका जनताको भनाईहरूलाई सुझाबको रुपमा लिएर विकासको कार्यलाई निरन्तरता प्रतिबद्धता जनाए । उनले विभिन्न क्षेत्रमा मात्र बोलेर नहुने, बरु नागरिक आफैं नगरपालिकामा आएर सल्लाह, सुझाव दिएर प्रत्यक्ष सहभागी भई छलफल गरी हातेमालो गर्न आवश्यक रहेको बताए । नागरिकहरुको आवाजलाई मध्यनजर राख्दै विकासको योजनालाई सक्दो कार्यान्वयन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
नगर प्रमुख भट्टले नगरको विकट ठाउँको लागी नगरपालिकालिले विशेष पहल गरि बजेट विनियोजन गरिएको बताउँदै जस अन्तर्गत बाटो, बिजुली बत्ती, स्वच्छ पानी लगायत पूर्वाधारको विकासमा प्राथमिकता दिई बजेट विनियोजन गरिएको साथै कार्य तिब्र गतिमा भइरहेको बताए । उनले आफूले नगरप्रमुखको जिम्मेवारी सम्हालेदेखि नै जनताको विश्वास कायम राख्दै जिम्मेवार ढंगले काम गरिरहेको बताए । शैक्षिक क्षेत्रमा नगरपालिकाले शिक्षाको कुन विद्यालयमा कुन तहको शिक्षक आवश्यकता रहेको त्यसलाई मध्यनजर गरी कार्य गरेको साथै आवश्यक भौतिक पूर्वाधार निर्माणमा पहल गरिएको समेत बताए ।
वडा नं ३ मा ९५ लाख ९४ हजार ८५ रुपैयाँ बजेट सार्वजनिकवडा नं ४ मा १ करोड १८ लाख बजेट सार्वजनिक
साथै, नगरको यस ३ नं वडामा निर्माण भइरहेको फोहोरमैला व्यवस्थापन केन्द्रलाई प्रदेशकै ठूलो परियोजनाका रूपमा लिइएको छ । यस प्रोजेक्टले वातावरण संरक्षणका साथै रोजगारी सिर्जना र स्थानीय उत्पादनमा सहयोग गर्ने अपेक्षा गरिएको उनले बताए । यस्तै वडा भेला कार्यक्रममा कैलाली क्षेत्र नं. ४ का नेपाली कांग्रेस सभापति ललित रोकायाले जनताको आवश्यकता र उपयुक्त विकासको स्वरूपबारे सूक्ष्म अध्ययन गरिएको बताए । ‘जनताले के चाहेका छन् र कस्तो प्रकारको विकास उपयुक्त हुन्छ भन्ने विषयमा गहिरो अध्ययन गरिएको छ, रोकायाले भने, सबै विकास कार्य तुरुन्तै सम्पन्न हुँदैनन्, विकास एक क्रमिक प्रक्रिया हो, त्यसका लागि धैर्य आवश्यक हुन्छ ।’
उनले पछिल्ला तीन वर्षको अवधिमा गोदावरी नगरपालिकामा प्रविधिसँग मेल खाने खालका विकास कार्यहरु भएका र अझ थप कार्य निरन्तर रूपमा अगाडि बढिरहेको बताए । रोकायाले जनप्रतिनिधिहरूलाई सहज रूपमा कार्य गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको भन्दै “निर्वाचित प्रतिनिधिले मात्र सबै काम गर्न सक्दैनन्, त्यसका लागि सबै क्षेत्रबाट सहकार्य हुन आवश्यक छ । उनले सबै नागरिकलाई विकासलाई आफ्नै जिम्मेवारीका रूपमा लिएर सहकार्य गर्न र सकारात्मक वातावरण सृजना गर्न आग्रह गरे ।
वडा भित्रका बुढितोला, फूलबस्ती लगायतका विभिन्न बस्तीहरूमा महिला सहभागितामा शिपमूलक तथा गरिबी निवारणसम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक रहेको सहभागीहरूले बताए । उनीहरूले यस्ता तालिमहरूबाट महिला दिदीबहिनीहरू आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गरे ।
यस्तै फूलबस्ती क्षेत्रका स्थानीय कमल धामीले आफ्नो बस्तीमा वर्थिङ सेन्टरको अभाव रहेको बताए । साथै, वर्षायाममा सडक हिलाम्य हुने र आवतजावतमा अत्यधिक समस्या हुने उल्लेख गर्दै, यसले बिरामी बोक्नेदेखि दैनिक जीवनका अन्य कार्यहरूमा समेत अवरोध सिर्जना गर्ने गुनासो गरे ।
त्यस्तै बास्कोटाका मान बहादुर चौधरीले खेतबारीमा लगाएको अन्नबाली छाडा पशुहरूले नष्ट गर्ने समस्या बारम्बार आइरहेको बताए । उनले यस्तो अवस्था निरन्तर रहने हो भने खेत बाँझो राख्न बाध्य हुने अवस्था आउने चिन्ता व्यक्त गरे । यसको उचित व्यवस्थापनमा गर्न आग्रह गरे ।
वडा नं ३ को २०८२\०८३ को नीति तथा कार्यक्रमहरु प्रस्तुत वडाध्यक्ष तेजराज अवस्थीले गरेका थिए । पूर्वाधार विकास तर्फ ४० लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको जसमा सडक कालो पत्रे, ग्राभेल र विद्युत पोल खरिदमा प्राथमिकता रहेको जानकारी दिए । यस्तै सामाजिक विकास तर्फ ३३ लाख रहेको जसमा शिक्षा, स्वास्थ्य, धर्मकला संस्कृति,युवा लक्षित कार्यक्रम, खानेपानी लगायत विभिन्न लक्षित कार्यक्रमलाई प्राथमिकता दिइएको जनाएको छ । आर्थिक विकास तर्फ कृषिमा ९ लाख र शिपमुलक तालिममा १ लाख ५० हजार रहेको छ । विपत् व्यवस्थापन तर्फ ५० हजार, लागू औषध दुव्र्यसन नियन्त्रण तथा रोकथाममा ५० हजार लगायत १० लाख रकम अन्य विभिन्न कार्यक्रमहरुलाई लक्षित गरि बजेट विनियोजन गरिएको जनाएको छ ।
वडा नं ४ को नीति तथा कार्यक्रम वडाध्यक्ष हेम प्रकाश मल्लले प्रस्तुत गरेका थिए । टोल भेला अन्तर्गत २सय ६० योजना प्रस्ताव फाराम भरी योजना माग भई आएको मध्ये विभिन्न क्षेत्रमा योजना तथा नीति कर्यक्रमहरु सञ्चालन गरिने भएको छ । जस अन्तर्गत आगामी आ व २०८२\०८३ को लागी १ करोड १८ लाख १० हजार ७ सय १६ रकम बजेट ल्याएको जानकारी दिए । जसमा समानीकरण बजेट तर्फ ७० लाख र सूत्रमा आधारित ४८ लाख १० हजार ७१६ रुपैयाँ बजेट सार्वजनिक गरेको हो । वडाले पूर्वाधार विकास तर्फ ६२ लाख, सामाजिक विकास तर्फ २१ लाख, आर्थिक विकास तर्फ १८ लाख, सुशासन तथा संस्थागत विकास तर्फ १३ लाख १० हजार ७ सय १६ र वातावरण तथा विपत् व्यवस्थापन तर्फ ४ लाख रुपैयाँ रहेको जानकारी दिए ।
यस्तै वडाले चैत मसान्त सम्ममा १७ लाख ९१ हजार ८ सय राजश्व संकलन गरेको छ । यस्तै वडाध्यक्षहरुले वडामा लालपुर्जा वितरणको बारेमा आफ्नो ३ पुस्ते विवरण लिएर आउन आग्रह गर्दै सुकुम्बासीहरुले पुर्जा पाउनु हुने प्रतिबद्धता व्यक्त गरे । यस क्षेत्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिइएको बताए । विकासका कार्यहरू क्रमशः अघि बढ्ने बताउँदै समग्र क्षेत्रको समुचित विकासका लागि ढिलो चाँडो भए पनि सबै वडामा आवश्यक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता जनाए ।
यस्तै वडाले चैत मसान्त सम्ममा १७ लाख ९१ हजार ८ सय राजश्व संकलन गरेको छ । यस्तै वडाध्यक्षहरुले वडामा लालपुर्जा वितरणको बारेमा आफ्नो ३ पुस्ते विवरण लिएर आउन आग्रह गर्दै सुकुम्बासीहरुले पुर्जा पाउनु हुने प्रतिबद्धता व्यक्त गरे । यस क्षेत्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिइएको उनले बताए । विकासका कार्यहरू क्रमशः अघि बढ्ने बताउँदै समग्र क्षेत्रको समुचित विकासका लागि ढिलो चाँडो भए पनि सबै वडामा आवश्यक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता जनाए ।