वडा भेलामा गेटा युवा क्लवका अध्यक्ष भण्डारीको गुनासो- “युवामैत्री कार्यक्रमप्रति जनप्रतिनिधिको चासो शून्यजस्तै’’
अत्तरिया, ३ जेठ : गोदावरी नगरपालिका वडा नं ५ ले शनिबार आयोजना गरेको नवौं वडा भेलामा गेटा युवा क्लबका अध्यक्ष हरिश भण्डारीले युवालाई केन्द्रमा राखी सञ्चालन गर्न सकिने कार्यक्रमप्रति स्थानीय वडाको उदासीनता प्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनले युवाहरूको सक्रियता र सशक्तिकरणका लागि खेलकुद कार्यक्रम आवश्यक रहेको धारणा राख्दै सामान्य प्रकृतिका युवा लक्षित कार्यक्रमहरू सञ्चालन गर्न पटक–पटक आग्रह गर्दा पनि वडाबाट कुनै प्रतिक्रिया नआएको बताए । “केवल गुनासो र निवेदन गर्ने हैसियतमा युवालाई राखेर परिवर्तन सम्भव छैन,” भण्डारीले भने, “स्थानीय निकायले खेलकुद लगायत सिर्जनशील कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ ।”
यस्तै भण्डारीले स्वच्छ वातावरण निर्माणका लागि वडास्तरीय सरसफाई अभियान सञ्चालन गर्नुको साथै युवामैत्री कार्यक्रमका लागि छुट्टै बजेट विनियोजन गर्न आवश्यक रहेको बताए । नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित हुने कार्यक्रमहरू सञ्चालन गर्नु वडाको जिम्मेवारी भएको उनको भनाइ छ ।
उनले युवाहरूलाई खेलकुद, रोजगार र नेतृत्व विकासजस्ता विषयसँग जोडेर दीर्घकालीन नीति निर्माण नगर्दासम्म सामाजिक रुपान्तरण सम्भव छैन । “युवाको क्षमता, ऊर्जा र सिर्जनशीलतालाई सदुपयोग गर्न सक्ने नीति निर्माण हुनुपर्छ, जसबाट रोजगारी सिर्जना हुनुका साथै युवा नैतिक र सामाजिक रूपमा जिम्मेवार बन्न सकोस्,” उनले भने ।
भण्डारीले यस्ता नीतिहरूले युवालाई पारिवारिक, सामाजिक तथा राष्ट्रिय कर्तव्यप्रति सचेत र उत्तरदायी बनाउने कुरा व्यक्त गर्दै स्थानीय तहले अबको नीति तथा बजेट निर्माणमा युवालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता बताए ।