नगरका सबै वडामा समान रूपमा बजेट विनियोजन गरिएको छ : नगर प्रमुख भट्ट

अत्तरिया : गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नगरका सबै वडामा कुनै प्रकारको विभेद नगरी समान रूपमा बजेट विनियोजन गरिएको बताए । गोदावरी नगरपालिका वडा नं ५ ले आयोजना गरेको नवौं वडा भेलामा जनताको सुझावलाई विकासका कार्यहरूमा मार्गदर्शनका रूपमा लिएर योजनाबद्ध ढंगले अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।
नगरप्रमुख भट्टले स्थानीय सरकार जनताको नजिकको सरकार भएको उल्लेख गर्दै, “कुनै समस्या परेमा सबैभन्दा पहिले स्थानीय सरकारलाई गुहार्नुपर्छ । बजेटले भ्याएसम्म स्थानीय तहमै काम गरिन्छ, तर आवश्यकता परेमा प्रदेश र संघ सरकारसँग समन्वय गरेर विकास अघि बढाइनेछ,“ उनले भने ।
उनले नगरमा विकासको काम तिव्र रुपमा अगाडि बढाउन सबै वडाका आवश्यकता र प्राथमिकता पहिचान गरी समन्वयमा आधारित योजना आवश्यक रहेको धारणा व्यक्त गरे । “जहाँ समन्वय हुन्छ, त्यहाँ विकासको गति पनि बढ्छ,” उनले भने ।
विकास जनताको सहभागिता बिना सम्भव छैन,” विकासका कार्यक्रममा, चिया पसलमा मात्र भनाई सीमित नराखी, नागरिक स्वयं नगरपालिकामा आएर सल्लाह, सुझाव दिई छलफलमा सहभागी हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।
सीमित स्रोतसाधनका बीच पनि दृढ इच्छाशक्ति, धैर्यता र सहकार्यले गर्दा विकास सम्भव हुने विश्वास व्यक्त गर्दै नगरप्रमुख भट्टले दल, विचार वा पदभन्दा माथि उठेर समग्र गोदावरीको हितमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
“निर्वाचित प्रतिनिधिले मात्र सबै काम गर्न सक्दैन । यसको लागि सबै क्षेत्रको सहकार्य अपरिहार्य छ,” उनले भने । नगरप्रमुख भट्टले आफ्नो कार्यकालको सुरुवातदेखि नै जनताको विश्वास जित्दै जिम्मेवार रूपमा काम गरिरहेको बताउँदै नगरको समग्र रूपान्तरणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.