अत्तरिया : गोदावरी नगरपालिकाकी उप–प्रमुख शारदा देवी रोकायाले सम्पन्न वडा भेलामा बोल्दै स्थानीय सरकारको बजेट सीमित भए पनि जनताको विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाइने बताईन् । उनले वडास्तरीय कार्यक्रमहरूमा आएको जनगुनासो, सुझाव र सल्लाहलाई गम्भीरता पूर्वक लिइने प्रतिबद्धता व्यक्त गरिन्।
“यो स्थानीय निकायको बजेट धेरै हुँदैन, माथिबाट आउने रकम पनि घटेरै आउँछ, त्यसैले वडामा बजेट निकै सीमित हुन्छ,” उप–प्रमुख रोकायाले भनिन्, “तर, जनप्रतिनिधिहरूको कर्तव्य भनेको त्यो सीमित स्रोतलाई जनताको हितमा सदुपयोग गर्नु हो भनिन् ।”
“कसैले पनि आफ्नो मात्र होइन, सबै जनताको विकासको कुरा गर्नुपर्छ,” उनले अगाडि भनिन्, “एक–अर्काको कुरा काटेर होइन, सहकार्य गरेर मात्र विकास सम्भव छ।” गाउँघरका महिलाहरूको सक्रियता र भूमिकाको विषयमा उनले दिदीबहिनीहरूलाई स्वरोजगार र पशुपालनमा लाग्न आह्वान गरिन्। “हामीले गाई, भैंसी, गोरु पालेका छौं, त्यसको संरक्षण र व्यवस्थापन पनि आवश्यक छ। गाई माता हो, हामी पूज्ने संस्कृति छ, त्यसैले त्यसको उचित व्यवस्थापन गर्न पनि स्थानीय सरकार तयार छ,” उप–प्रमुख रोकायाले भनिन्।
छाडा गाईबस्तुको व्यवस्थापनसम्बन्धी जनचासोबारे उनले भनिन्, “छाडिएका पशुहरू अभिभावकविहीन छन्। त्यसलाई हामीले व्यवस्थित गर्नुपर्छ। वडा र नगर सरकार जनताको सेवामा सधैं तत्पर छ।” उनले वडाका जनताले दिएका सुझाव र गुनासोलाई सकारात्मक रूपमा लिने र तिनलाई कार्यान्वयनका आधार बनाउने प्रतिबद्धता जनाइन्।