अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच सहमति भएको छ । शनिबार सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट गठित वार्ता टोली र स्थानीय तह कर्मचारी प्रदेश सङ्घर्ष समितिबीच ५ बुँदे सहमति भएको हो ।
सरकारले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अविलम्ब जारी गर्ने र आन्दोलनरत कर्मचारीले आन्दोलनका कार्यक्रमहरू स्थगन गरि कार्यक्षेत्रमा फर्किने सहमति भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल संयोजक रहेको वार्ता टोली र स्थानीय तह कर्मचारी प्रदेश सङ्घर्ष समितिका तर्फबाट सङ्घर्ष समितिका संयोजक झलकबहादुर दौल्यालसहितको टोलीबीच सहमति भएको हो ।
स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जारी गर्न माग गर्दै केहीदिन यता स्थानीय तहका कर्मचारी आन्दोलित भएका थिए ।
