अत्तरिया, ४ जेठ : सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा रामेश्वर चौधरी नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सभा सदस्य चौधरीलाई मन्त्री नियुक्त गरेका हुन् ।
उनलाई आइतबार नै प्रदेश प्रमुख नजिर मियाँले मन्त्रीको सपथ ग्रहण गराएका छन् । रामेश्वर चौधरी यसअघि पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भएका थिए ।
आर्थिक लेनदेनको अडियो काण्डमा मुछिएका नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी पदमुक्त भएपछि वन तथा उद्योग मन्त्री पद रिक्त थियो । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति सम्मिलित प्रदेश सरकारमा नाउपाको भागमा परेको वन मन्त्रीमा पुनः कसलाई पठाउने भन्ने विषयमा निकै चर्काे विवाद उत्पन्न भएको थियो ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई वनमन्त्री बनाउन प्रदेश संसदीय दललाई सिफारिस गर्न निर्देशनात्मक पत्र पठाएकी थिइन् । तर अध्यक्ष चौधरीको निर्देशनपत्रलाई उल्लंघन गर्दै प्रदेश संसदीय दलले रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको हो ।
सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलमा पार्टी अध्यक्ष श्रेष्ठ पक्ष अल्पमतमा छ । उनका पक्षका दुई जना मात्र छन् । पार्टी संरक्षक रेशमलाल चौधरीको पक्षमा ५ जना रहेका छन् । नाउपाका प्रदेश सभामा ७ सदस्य छन् । लामो समयदेखि पति रेशम र पत्नी रञ्जिताबीच पार्टी सञ्चालनका सम्बन्ध एकता कायम हुन सकेको छैन ।
सम्बन्धित पाेस्टहरु