जे सक्छु त्यो मात्र बोल्छु, झुटा आश्वासन दिँदैन : नगरप्रमुख भट्ट

अत्तरिया : गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले आफूले गर्न सक्ने क्षमता अनुसार मात्र योजना सार्वजनिक गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। वडा नं ८ को वडाभेलालाई सम्बोधन गर्दै उनले भने, म जे सक्छु त्यो बोल्छु, जे सक्दिन त्यो बोल्दिन। झुटा आश्वासन दिएर जनताको आँखामा छारो हाल्ने काम गर्दिन ।

उनले समग्र नगरको विकासमा आफू सदैव लागि परेको उल्लेख गर्दै भने, हामी आन्तरिक स्रोत, राजस्व संकलन कति उठ्छ भनेर योजना बनाउँछौं। टोल भेलाबाट आएका मागहरूलाई नगरमा जानकारी गराउन आवश्यक छ । शैक्षिक क्षेत्रमा उल्लेखनीय सुधार भएको बताउँदै नगरप्रमुख भट्टले शिक्षकहरूलाई गुणस्तरीय शिक्षाका लागि निरन्तर प्रेरित गरिएको जानकारी दिए।

उनले नगरको योजना र कार्यहरू पारदर्शी हुने बताए। जो कोहीले व्यक्तिगत स्वार्थमा कुलो मिचेर बाटो बनाउने कार्य गरेका छन् भने, त्यसको पक्षमा नगरले कडा आवाज उठाउने छ र आवश्यक कारबाही पनि गरिने छ, उनले स्पष्ट पारे। कृषि क्षेत्रमा व्यवसायिक किसानहरूको लागि अवसर सिर्जना गर्न गोदावरी नगरपालिका वडा नं. १ मा हाटबजार स्थापना भइसकेको उल्लेख गर्दै उनले भने, यसको कार्यविधि तयार भइसकेको छ र यो महिना भित्र व्यवसायिक किसानहरूले बजार मूल्यअनुसार हाटबजार सञ्चालन गर्न पाउने छन्।

नगरप्रमुख भट्टले विभिन्न धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि पनि नगरपालिका प्रतिबद्ध रहेको बताए। हरेक वर्ष बजेट छुट्याएर सांस्कृतिक गतिविधिहरूलाई जगेर्ना गर्दै आएका छौं, उनले भने।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.