अत्तरिया, ७ जेठ : कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रसंशा पत्र सहित नगदले पुरस्कृत गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेमा हुन् ।
सम्मान कार्यक्रममा बोल्दै एसपी राणाले आफू हरेक प्रहरी सम्मान होस् भन्ने चाहेको बताए । ‘हरेक प्रहरीले आफ्नो कार्यक्षेत्रमा यसरी नै पुरस्कृत भएको हेर्न चाहन्छु’ एसपी राणाले भने ‘प्रहरीको व्यवहार र आचरणले सेवाग्राहीको मन जित्न सकिन्छ भन्ने उदाहरण हो ।’
राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसुती गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुगाएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए ।
देउवाले मंगलबार पालिकाको वडा नं. १ को बसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसुती हुन सघाएकी थिइन् । देउवाकै सहितको अत्तरियाको पद्मा अस्पतलाको स्वास्थ्यकर्मीको टिमले उनलाई सुरक्षित रूपमा अस्पताल पुगाएको थियो । देउवालाई सम्मान गर्दै एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारवाहीको दायरामा जोड दिए ।
सम्बन्धित पाेस्टहरु