निसर्गको मानवसेवा अभियान, दृष्टि फाउन्डेशका लागि ५ लाख सहयोग र उपचार सम्झौता

अत्तरिया, ७ जेठ : सामाजिक उत्तरदायित्व अन्तर्गत निसर्ग हस्पिटल धनगढीले दृष्टि फाउन्डेशन नेपालको अक्षय कोष स्थापनार्थ ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।
उक्त चेक दृष्टि फाउन्डेशन नेपालको कार्यालय, धनगढी उपमहानगरपालिका–१३ मा आयोजित विशेष समारोहका बीच फाउन्डेशनकी अध्यक्ष कल्पना भट्टलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा निसर्ग हस्पिटलका अध्यक्ष तथा युवा समाजसेवी तिर्थराज पन्त, डा. हेमन्त ओझा, डा. दीपक ठकुराठी, डा. प्रभात सापकोटा, डा. दीपक पौडेल लगायत अस्पतालका कर्मचारी, नर्सिङ स्टाफ तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । हस्पिटलका अध्यक्ष पन्तले संस्थाको स्थापना कालदेखि नै दृष्टि फाउन्डेशनमा आश्रय लिएर बस्दै आएका असहाय तथा विपन्न नागरिकहरूलाई निःशुल्क तथा भारी छुटमा उपचार सेवा दिँदै आएकोे बताए । कार्यक्रममा बोल्दै पन्तले भने, “निसर्ग हस्पिटलले सदैव असहाय, गरिब तथा समाजका पछाडि परेका वर्गहरूलाई प्राथमिकतामा राख्दै सेवा गर्दै आएको छ । हाम्रा सम्पूर्ण शेयर सदस्य, चिकित्सक, कर्मचारी, नर्सिङ स्टाफदेखि व्यवस्थापन तहसम्मका सबैले स्वेच्छिक रुपमा यो सहयोगमा सहभागी भएर एक सकारात्मक उदाहरण प्रस्तुत गरेका छन् ।’
उक्त अवसरमा निसर्ग हस्पिटल र दृष्टि फाउन्डेशनबीच एक महत्वपूर्ण स्वास्थ्य सम्झौतासमेत सम्पन्न भएको छ । जसअनुसार दृष्टि फाउन्डेशनमा बसोबास गर्ने सेवाग्राहीहरूले निःशुल्क उपचार सुविधा र अन्य सेवामा ३० प्रतिशतसम्म छुट पाउने छन् । पन्तले धनगढीमा रहेका आमाको माया छात्रावास, मानव सेवा आश्रम लगायतका संस्थाहरूसँग पनि हस्पिटलले विभिन्न समयमा सहयोग गर्दै आएको उल्लेख गर्दै, आगामी दिनहरूमा समेत सामाजिक संस्थाहरूसँग हातेमालो गर्दै सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.