गृहमन्त्री लेखक भन्छन्-‘एक रुपैयाँ अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु’

अत्तरिया : गृहमन्त्री रमेश लेखकले आफ्नो विरुद्ध नियोजित रूपमा झुट्टा प्रचारबाजी भइरहेको आरोप लगाउँदै ती आरोपहरूको कडा खण्डन गरेका छन् । शनिबार प्रेस ब्रिफिङ गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सम्बन्धी भिजिट भिसाको विषयलाई लिएर गरिएको आलोचना आधारहीन रहेको दाबी गरेका हुन् ।

उनले भने, ‘मेरा विरुद्धमा नियोजित र षडयन्त्रमूलक ढङ्गबाट झुट्टा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा, यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्‍यो भने, प्रमाणित भयो भने म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु । अब यो बारेमा विस्तृत कुरा १३ गते प्रतिनिधिसभामा बोल्ने छु ।

लेखकले आगामी जेठ १३ गते प्रतिनिधिसभामा उपस्थित भएर उक्त विषयमा विस्तृत धारणा राख्ने जानकारी दिए । उनले यथार्थ तथ्य सार्वजनिक गरिने बताउँदै अनावश्यक भ्रममा नपर्न आग्रह समेत गरे ।

त्यस्तै उनले कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै प्रश्नसमेत गरे । ‘अनि कुनै पनि कर्मचारीकामाथि अनुसन्धान सुरु हुँदै गर्दा सबै मन्त्रीले राजीनामा दिँदै जाने हो ? त्यही पद्धति बसाउने जाने हो ? आजसम्म त्यस्तो भएको छ ?,’ उनले प्रश्न गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.