सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउने

अत्तरिया : सरकारले आगामी आर्थिक वर्ष २०८२\८३ मा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउने घोषणा गरेको छ। बिहीबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डडेल्धुरा केन्द्रित यो विश्वविद्यालय आगामी वर्षदेखि सञ्चालनमा आउने जानकारी दिएका हुन्।

स्वास्थ्य शिक्षाको पहुँच क्षेत्रीय रूपमा विस्तार गर्ने उद्देश्यसहित विश्वविद्यालय सञ्चालनको तयारी गरिएको हो। अर्थमन्त्री पौडेलका अनुसार डडेल्धुरामा मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि आवश्यक बजेट पनि विनियोजन गरिएको छ।

यो विश्वविद्यालयले प्रदेश सुदूरपश्चिममा चिकित्सा शिक्षा, जनस्वास्थ्य अनुसन्धान, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन तथा सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। दूरदराजका विद्यार्थीहरूलाई स्वास्थ्य शिक्षामा सहज पहुँच दिने र स्थानीय तहमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने सरकारको दीर्घकालीन योजनासँग यो परियोजना जोडिएको छ। सरकारको यो कदमले सुदूरपश्चिममा शैक्षिक र स्वास्थ्य पूर्वाधार विस्तारका साथै क्षेत्रीय विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.