अत्तरिया, १८ जेठ : कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ निवासी समाजसेवी स्वर्गीय मोहन साउदको वार्षिक पुण्यतिथिको अवसरमा उनकी छोरी तथा हाल युके लण्डनमा बसोबास गर्दै आएकी हरिना साउदले अत्तरियास्थित महिला तथा बालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग प्रदान गरेकी छन् ।
सामाजिक उत्तरदायित्व र मानव सेवामा प्रेरित हुँदै स्वर्गीय पिताको सम्झनामा गरिएको यो सहयोग कार्यले समुदायमा सकारात्मक सन्देश दिएको छ । सेभ हाउसमा रहेका आश्रित बालबालिकाहरूको दैनिकी सहज बनोस् भन्ने हेतुले हरिनाले विभिन्न खाद्यान्न सामग्रीहरू उपलब्ध गराएकी हुन् ।
उक्त खाद्यान्न सामग्रीहरू मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी गणेश जिमी साउदको नेतृत्वमा सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई एक औपचारिक कार्यक्रमकाबीच हस्तान्तरण गरियो । कार्यक्रममा गणेश साउदले स्वर्गीय मोहन साउदको समाज सेवामा दिएको योगदानको चर्चा गर्दै उहाँको सम्झनामा यस प्रकारका सहयोग कार्यहरू निरन्तर भइरहनु आवश्यक रहेको बताए । सेभ हाउसमा हाल ४० देखि ४५ जना बालबालिका तथा केही महिलाहरू आश्रय लिईरहेका छन् । ती बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा संरक्षणको व्यवस्थापनमा सेभ हाउस निरन्तर क्रियाशील छ । अध्यक्ष जानकी मलासीले सहयोगप्रति आभार व्यक्त गर्दै समाजका अग्रज र युवाहरूबाट यस्ता सहयोगले संस्थाको सेवा विस्तारमा टेवा पुग्ने बताइन् । युकेबाट हरिना साउदले टेलिफोनमार्फत प्रतिक्रिया दिँदै भनिन्, “बुबाको समाजसेवामा समर्पित जीवनले मलाई सँधै प्रेरणा दिएको छ । उहाँको पुण्य स्मृतिमा गरिएको यो सहयोग सानो प्रयास हो । आगामी दिनमा पनि सामाजिक सेवामा मेरो सक्दो योगदान रहनेछ ।”
स्वर्गीय मोहन साउद जीवनभर सामाजिक न्याय, पीडितका हकअधिकार र सामुदायिक विकासमा सक्रिय रहेका एक उदाहरणीय व्यक्तित्व थिए । उनको निधनले कैलाली क्षेत्रले एक असल समाजसेवी गुमाएको अनुभूति गरिएको थियो । उनको सम्झनामा छोरी हरिनाले गरेका यस्ता कार्यहरूले समाजमा सकारात्मक ऊर्जा थप्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन् ।
सम्बन्धित पाेस्टहरु