सामुदायिक शिक्षाको गुणस्तर सुधारको प्रयास, दुर्गालक्ष्मी र विश्व निकेतन माविबीच शैक्षिक सहकार्य सम्झौता
अत्तरिया, २२ जेठ : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना मावि र काठमाडौं त्रिपुरेश्वरस्थित विश्व निकेतन माविबीच शैक्षिक सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ ।
सामुदायिक विद्यालयहरूबीच असल अभ्यास आदान–प्रदान गरी विद्यार्थी र शिक्षकहरूमा पारस्परिक सिकाइ र समन्वय अभिवृद्धि गर्न सम्झौता गरिएको दुर्गालक्ष्मी माविका व्यवस्थापन समिति अध्यक्ष गणेश शाहले जानकारी दिए । उनले यस सम्झौताले गुणस्तरिय शिक्षा प्रधान गर्नमा टेवा पुग्ने विश्वास गरे ।
सम्झौतापत्रमा दुर्गालक्ष्मी माविबाट अध्यक्ष शाह तथा प्रधानाध्यापक ललन प्रसाद चौबे र विश्व निकेतन माविबाट प्रधानाध्यापक हेरम्बराज कडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार दुर्गालक्ष्मी माविले विज्ञान विषयमा प्राविधिक सहयोग गर्दै आवश्यक शैक्षिक तालिम, गोष्ठी, अन्तरक्रिया र संसाधन प्रदान गर्नेछ । साथै, दुबै विद्यालयले विद्यार्थी र शिक्षक साटासाट, विज्ञान प्रदर्शनी, परीक्षा समन्वय, पाठ्यसामग्री तथा छात्रवृत्ति उपलब्ध गराउने, र तीन वर्षे सिकाइ स्थानान्तरण कार्यक्रम सञ्चालन गर्ने छन् । साथै, शैक्षिक अवलोकन भ्रमण, बालविकासदेखि माध्यमिक तहसम्म शैक्षिक विधिको प्रयोग, अतिरिक्त क्रियाकलाप तथा सामाजिक–सांस्कृतिक संग्रहालयको सहकार्य पनि सम्झौतामा समावेश गरिएको छ ।
केहि समय यता दुर्गा लक्ष्मीले सामुदायिक शिक्षाको गुणस्तरका लागि भरपुर प्रयास गर्दै आएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नमा सबैको सहकार्य आवश्यक रहेको अध्यक्ष शाहको भनाई रहेको छ । एक व्यक्ति या संस्थाले जतिसुकै मेहनत गर्दा पनि शिक्षाको गुणस्तर सुधार नहुने यसको लागि सरोकारवाला निकाय बीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनले बताए ।
