अत्तरिया, २३ जेठ : कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा रहेको तरकारी हाटबजारमा विषादी अवशेष दुत विश्लेषण इकाईले उपभोग अयोग्य (रेड लेवल) तरकारी भेटिएको छ ।
शुक्रबार खानीडाँडाबाट ल्याइएको बन्दामा अत्यधिक मात्रामा विषादी भेटिएपछि जनप्रतिनिधिको रोहबरमा ६५ किलोभन्दा बढी बन्दागोभी नष्ट गरिएको हो ।
उक्त इकाईका नासु राजेन्द्र खतिवडाका अनुसार बन्दामा ९९.१११ प्रतिशत अर्गानोफस्फेट र १.६०६७ प्रतिशत कार्बामेट विषादीको अंश फेला परेको थियो । वैज्ञानिक मापदण्ड अनुसार अर्गानोफस्फेटको ३५ प्रतिशत भन्दा कम मात्रा सुरक्षित मानिन्छ भने ४५ प्रतिशत भन्दा बढी भएमा नष्ट गर्नुपर्ने हुन्छ । यस आधारमा उक्त बन्दागोभी उपभोगका लागि अयोग्य ठहरिएको हो ।
गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टका अनुसार बजारमा दैनिक जाँचको क्रमलाई निरन्तरता दिइँदै आएको छ । उपभोक्तालाई विषादीमुक्त तरकारी तथा फलफूल मात्र उपभोग गर्न र प्रमाणित सामान रोज्न आग्रह गरिएको छ । पछिल्लो समय बजारमा असामान्य रूपमा पाकेको देखिने आँपहरू आइपुगेको भन्दै उपभोगमा सतर्कता अपनाउन सुझाव दिइएको छ ।
तरकारी तथा फलफूल हाटबजार समिति अध्यक्ष दिल्लीराज जोशीले बाहिरी क्षेत्रबाट आउने तरकारी र फलफूलमा निगरानी कडाइका साथ अगाडि बढाइने बताएका छन् । साथै, कृषकहरूलाई विषादी प्रयोगबारे सचेत गराउनुपर्ने आवश्यकता पनि औँल्याएका छन् । यस कार्यविधिले उपभोक्ताको स्वास्थ्य सुरक्षासँगै विषादी प्रयोग नियन्त्रणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित पाेस्टहरु