दीर्घकालीन खानेपानी योजना अघि बढाउने छ : नगरप्रमुख भट्ट

अत्तरिया, ७ असार : गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले जलवायु परिवर्तनका कारण विशेष गरी खानेपानी आपूर्तिमा मात्र होइन, कृषि क्षेत्रमा समेत प्रतिकूल असर परेको बताएका छन् । अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभामा उनले यस्तो बताएका हुन । शनिबार आयोजित १६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन एक जटिल समस्याको रूपमा अघि बढिरहेको सन्दर्भमा यसको न्यूनीकरणका लागि स्थानीय निकायहरूले सक्दो प्रयास गरिरहेको समेत उल्लेख गरे ।
उनले जलस्रोतको दीगो संरक्षणका लागि मूल मुहानको खोज आवश्यक रहेको बताउँदै, यस्ता कार्यमा स्थानीय तह पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । गोदावरी नगरपालिकाको दीर्घकालीन खानेपानी आयोजना सञ्चालनका लागि सम्भाव्यता अध्ययन डीपीआर तयार पार्नुपर्ने आवश्यकता रहेको र यस कार्यको जिम्मेवारी नगरपालिकाले लिने प्रतिबद्धता जनाए ।
अत्तरियाको खानेपानी आयोजना, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस, र वन संरक्षणजस्ता कार्यक्रमहरू सबै राजनीतिक दलहरूको हातेमालोको कारण सम्भव भएको उनले उल्लेख गरे । यस्ता खानेपानी, सहकारी लगायतका विविध संघ–संस्थाहरूको स्थानीय सरकारलाई आवश्यकता पर्छ र विकासको कार्यमा सबै पक्षले समन्वय गरी अघि बढ्न आवश्यक हुन्छ भन्ने धारणा उनले व्यक्त गरे ।
उनले स्थानीय सरकार आफैंमा सबै पक्षहरू नहुने भएकाले नगरवासीको सहयोगले विकासका कार्यहरू सहजरूपमा अघि बढेको दावी गरे । स्थानीय सरकार र जनताबीच समन्वय आवश्यक रहेको उनको भनाई छ ।
त्यसैगरी, व्यक्तिगत रूपमा प्लटिङ गरी मनपरी तरिकाले बाटो निकाल्दा खानेपानीको पाइपलाइनहरू भाँचिने समस्या देखिएको उल्लेख गर्दै यस्ता कार्यहरूमा रोक लगाइने उनले बताए । नगरपालिकासँग समन्वय नगरी वा नगरको मान्यता नलिई बनाइएका बाटोलाई मान्यता नदिने निर्णय गरेर अगाडि बढिरहेको जानकारी समेत उनले बताए ।
यस्तै सडक निर्माणका क्रममा अत्तरिया खानेपानी योजनाको पाइपलाइन क्षतिग्रस्त भएको अवस्थामा त्यसको मर्मत नगरपालिका स्वयंले गर्ने सम्झौता भएको उनले जानकारी दिँदै स्थानीय तह सदैव विकासका कार्यमा तत्पर रहेको प्रतिबद्धता जनाए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.