स्थापना दिवसमा बाजुरेली समाज धनगढीले रक्तदान कार्यक्रमको आयोजना गर्ने

अत्तरिया, ७ असार : बाजुरेली समाज धनगढीले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । धनगढीमा आज शनिबार बसेको समाजको बैठकले यस्तो निर्णय गरेको हो । यहि असार १५ गते परेको समाजको स्थापना दिवसमा नेपाल रेडक्रस सोसाईटी कैलाली कार्यालयमा रक्तादान कार्यक्रम गर्ने सचिव हर्क ओलीले जानकारी दिए । ‘बजारमा भईरहेको रगत अभावलाई मध्यनजर गर्दै समाजले रक्तदान कार्यक्रमका आयोजना गर्ने निर्णय गरेको छ’, उनले भने, ‘सबैलाई यसमा सहभागिता जनाउन आग्रह गर्दछौं ।’ रक्तदान कार्यक्रमलाई सफल पार्नका लागि समाजका वरिष्ठ उपाध्यक्ष रामचन्द्र जोशीको संयोजकमा समिति समेत गठन गरेको छ । समितिको सदस्यमा महेन्द्र साउँद र कैलाश जोशी रहेका छन् ।
समाजको स्थापना दिवसलाई केही फरक रुपमा आयोजना गर्न रक्तदान कार्यक्रम गर्न लागेको उनले बताए । ‘रक्तदान जिवनदान’ भन्ने नारालाई आत्मसाथ गर्दै वृहत रुपमा कार्यक्रम आयोजना गरिने समाजका अध्यक्ष भरत केसीले बताए । उनले रक्तदान कार्यक्रमलाई भव्यताका साथ सफल बनाईदिन सम्पुर्णमा आग्रह पनि गरेका छन । यहि असार १५ गते आईतबार विहान ८ बजे धनगढी उपमहानगरपालिका नजिकै रहेको रेडक्रस कार्यालयमा सबैलाई सहभागि भएर रक्तदान गरिदिन उनले अनुरोध समेत गरे ।
बैठकले समाजको भवन निर्माणका लागि पनि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय छ । समाजको जमिन धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको छ । हाल समाजको एक कोठे भवन मात्र रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.