मेहनती भिमसिंह कठायतको प्रेरणादायी यात्रा

अनिल पन्त
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१, भागेश्वर टोलका भीमसिंह कठायत सादा जीवन, उच्च सोच र कठोर परिश्रमका उदाहरण हुन् । हाल ४३ वर्ष पुगेका कठायतले जीवनको लामो समय रोजगारीका लागि भारतका विभिन्न ठाउँहरूमा मजदुरी गरेर बिताए । तर, स्वदेशमै केही गर्ने सपना उनले कहिल्यै मारेनन् ।
त्यही सपना साकार पार्न उनले सन् २०७४ सालदेखि आफ्नै सानो व्यवसाय सुरु गरे—केरा बेच्ने । सुरुमा आफन्तसँग मिलेर काम गरेका उनले पछि छुट्टै व्यवसाय सञ्चालन गरे । आज आठ वर्षपछि, उनी कैलालीको अत्तरियाका गल्ली–गल्ली र चोक–चोकमा विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म केरा बेचिरहेका हुन्छन् ।
उनी दैनिक ६÷७ हजार रुपैयाँ बराबरको केरा बिक्री गर्छन् र झन्डै १८००–२००० रुपैयाँसम्मको नाफा कमाउँछन् । यही व्यवसायबाट उनले चार जनाको परिवार पालिरहेका छन् । जीवनयापन मात्र होइन, उनले केरा व्यवसायबाटै घरजग्गा जोड्न समेत सफल भएका छन् ।
भीमसिंह कठायत भन्छन्, “लाज नमान्ने हो र काम गर्ने हो भने नेपालमै सानै लगानीबाट पनि राम्रै आम्दानी गर्न सकिन्छ ।” उनको यो कथाले हजारौं युवाहरूलाई प्रेरणा दिन्छ—देशमै पसिना बगाएर पनि इज्जतको जीवन जिउन सकिन्छ भन्ने सन्देश दिन्छ । भीमसिंह कठायत केवल केरा व्यवसायी होइनन्, उनी आत्मनिर्भर नेपालको एउटा उज्यालो अनुहार हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.