अत्तरिया : दुग्ध विकास संस्थान अत्तरिया आयोजना कार्यालयमा एक महिनादेखि तालाबन्दी छ । आयोजना कार्यालय धनगढी सार्न लागिएको भन्दै विरोधमा स्थानीयले गत ८ जेठमा कार्यालयमा ताला लगाइ दिएका हुन् । तालाबन्दीका कारण आर्थिक र प्रशासनिक कामहरु प्रभावित भएका छन् ।
डीडिसी अत्तरियाका प्रमुख निरन्जन भट्टराइले एक महिना यता किसानलाई दुधको भुक्तानी दिन नसकेको बताए । आर्थिक कारोबार ठप्प रहेको र प्रशासनिक कामहरु बन्द हुँदा उत्पादनमा समेत असर पर्ने अवस्था आउन थालेको उनले जानकारी दिए ।
‘भुक्तानी रोकिएकाले किसानले दिनकै फोन गरिरहेका हुन्छन्, दुग्ध संकलन केन्द्रबाट पनि भुक्तानी दिनु प¥यो भनेर दवाव आइरहेको छ’ भट्टराइले भने, ‘किसानलाई यो बीचमा सवा करोड भन्दा बढी रकम भुक्तानी भइसक्नु पर्ने थियो तर, लेखा शाखामा तालाबन्दी भएकाले भुक्तानी गर्न सकेका छैनौँ ।’
संस्थाले अत्तरियाको आयोजना कार्यालय धनगढी सार्ने तयारी गरेपछि त्यसको विरोधमा अत्तरियाका स्थानीय आन्दोलनमा उत्रिएका थिए । उनीहरु संस्थानको अत्तरियास्थित कार्यालयको प्रशासन र लेखा शाखामा तालाबन्दी गर्नुका साथै कार्यालय प्रमुखलाई कार्यालय प्रवेशमा समेत केहीदिन रोक लगाएका थिए ।
अहिले कार्यालयमा तालाबन्दी भएकाले कर्मचारीहरु कारखानामा बस्ने गरेका छन् । कारखाना भने सञ्चालनमै छ । दुध संकलन तथा दुध र दुग्धजन्य पदार्थको बिक्री वितरण भने रोकिएको छैन । व्यवसायमा भइरहेको बढोत्तरी सँगै अत्तरियास्थित कृषिहाटबजारभित्र रहेको कार्यालय र कारखानाका लागि ठाउँ साँघुरो हुनथालेको भन्दै डीडिसीले धनगढी उपमहानगरपालिका–१५, कनरीमा कारखाना सहित कार्यालय सार्ने तयारी गरेको थियो । त्यसकालागि संस्थान र उपमहानगर बीच भवन सहित करिब डेढ विघा जग्गा २५ वर्षका लागि लिजको सम्झौता भएको छ ।
धनगढी सार्नु अघि अत्तरिया आसपासमा लामो समयसम्म जग्गाको खोजी गर्दा पनि नपाएपछि केन्द्रले नै धनगढी सार्ने निर्णय गरेको कार्यालय प्रमुख भट्टराइले बताए ।
स्थानीय बासिन्दा संघर्ष समितिनै गठन गरेर विरोध उत्रिएकाले अत्तरियाबाट संस्थान धनगढी सार्ने काम अहिले रोकिएको छ । दुग्ध संकलन र स्थानीय रोजगारीमा असर पर्ने भएकाले संस्थान सार्न नहुने माग आफूहरु गरेको अत्तरियाका युवा नेता लोकराज पाण्डे ‘आगो’ ले बताए । संघर्ष समिति संयोजक समेत रहेका उनले संस्थानन सार्ने प्रतिवद्धता आए तालाबन्दी खोलिदिने बताए ।
स्थानीयले आन्दोलन गरेपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले दुग्ध विकास संस्थानका अध्यक्षसँग फोनमा कुरा गरेका थिए । त्यसपछि छलफलका लागि संस्थानका उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी यहाँआएर संस्थान सार्न गोदावरी नगरपालिका भित्रै तीन ठाउँमा जग्गा हेरेर फर्किएका छन् । नगरपालिकाले नै उनलाई जग्गा देखाएको हो ।
अत्तरियामा २०६७ सालदेखि स्थापनाभएको कार्यालय अहिले ठाउँको अभाव हुन थालेपछि सार्नुपर्ने अवस्थारहेको संस्थानले जनाएको छ । कृषि थोक बजारको संरचनामा रहेको संस्थानले अहिले मासिक ३८ हजार छ सय रुपैयाँ भाडा तिर्छ ।
अत्तरियामा रहेको संस्थानले यो क्षेत्रका किसानबाट दुधखरिद गरेको करिब सात करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यसमध्ये अहिले दिनसक्ने एक करोड रुपैयाँ तालाबन्दीका कारण रोकिएको प्रमुख भट्टराइले बताए ।
कैलाली, कञ्चनपुर र डडेल्धुराको आलिताल क्षेत्रबाट सुख्खायाममा दैनिक करिब साढे तीन देखि चार हजार लिटर र अन्य समय दैनिक करिब सातहजार लिटर दुध संकलनगर्दै आएको छ । अहिले यहाँ दैनिक करिब तीनहजार तीन सय लिटर दुध खपत भइरहेको भट्टराइले जानकारी दिए ।
बिक्री नभएको दुग्ध कार्यालयले हेटौडा र पोखरास्थित दुग्ध विकास आयोजना कार्यालयमा पठाउँछ । कैलाली, डडेल्धुरा, डोटी, बाजुराका विभिन्न ठाउँमा कार्यालयले दुध, दही, मोही, ध्यू, लस्सी लगायत दुग्धजन्य पदार्थ बिक्रीगर्दै आएको छ ।