गोदावरी नगरमा लागूपदार्थ दुव्र्यसन रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम

अत्तरिया, १८ असार : गोदावरी नगरपालिकाका १५ सामुदायिक माध्यमिक विद्यालयमा लागूपदार्थ दुव्र्यसन नियन्त्रण तथा रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । सामाजिक विकास मञ्च, सुदूरपश्चिम प्रदेश अत्तरियाको आयोजना तथा इलाका प्रहरी कार्यालय मालाखेतीको सहजीकरणमा कार्यक्रम संचालन गरिएको हो ।
बुधवार दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालय, अत्तरियामा आयोजित समापन कार्यक्रम नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई लागूऔषधका प्रकार, असर, यसको दुष्परिणाम, तथा बच्नका उपायबारे जानकारी प्रदान गरिएको थियो ।
नगर प्रमुख भट्टले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू जोखिमयुक्त उमेर समूहमा पर्ने भएकाले उनीहरू लागूऔषध जस्ता कुलतमा फस्ने सम्भावना बढी हुने बताए । यही संवेदनशीलतालाई ध्यानमा राख्दै नगरका प्रत्येक वडामा एक–एक विद्यालयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
भट्टले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा अभिभावकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बालबालिकाको उपस्थिति, गतिविधि तथा अनुशासनका विषयमा विद्यालयसँग निरन्तर समन्वय गर्न आग्रह गरे । कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूहरूले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने, अन्य साथीहरूसँग बाँड्ने तथा सकारात्मक सोचका साथ आफ्नो व्यक्तित्व विकास गर्ने अठोट व्यक्त गरे । नगर प्रमुख भट्टले सामाजिक विकास भौतिक पूर्वाधारजतिकै महत्वपूर्ण रहेको स्पष्ट गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए ।
गोदावरी नगरपालिकाको सहयोगमा १५ विद्यालयहरुमा आयोजना गरिएको लागूऔषध दुव्र्यसनी रोकथाम कार्यक्रममा करिब तीन हजार भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.