अत्तरिया, १८ असार : कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा आयोजित ५ दिने एलईडी बल्ब उत्पादन तथा मर्मत तालिम सम्पन्न भएको छ । वडाको आर्थिक सहयोगमा सम्पन्न उक्त तालिममा २० जना स्थानीय युवापिढीलाई प्रमाण पत्र सँगै उत्पादित एलईडी बल्ब समेत वितरण गरेको थियो ।
तालिमको आयोजना तथा सहजीकरण खप्तड तालिम तथा रोजगार मल्टिप्रपोज द्वारा गरिएको हो । संस्थाकी प्रबन्धक रेणुका रेग्मीका अनुसार, तालिमले युवालाई आत्मनिर्भर बनाउँदै दीर्घकालीन स्वरोजगारको सम्भावना सृजना गरेको बताएकी छन । उनले सीपमूलक तालिमहरूले युवा पुस्तालाई आफ्नो गाउँघरमै रोजगारको वातावरण तयार गर्न मद्दत गर्ने जोड दिईन ।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले तालिमको प्रभाव र भविष्यका सम्भावनाबारे धारणा राख्दै भने, “यो तालिम केवल प्रविधिको ज्ञान मात्र होइन, स्थानीय स्तरमा स्वरोजगारको ढोका खोल्ने महत्वपूर्ण प्रयास हो । यस्ता तालिमले सीप, आत्मविश्वास र आर्थिक उन्नतिको बाटो खोलिदिने छन ।”
उनले अगाडि भने, “हाम्रो नगरपालिका सीपमूलक शिक्षालाई विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ । रोजगारका लागि राजधानी वा विदेश जानुपर्ने बाध्यता हटाउन हामी गाउँमै सीपका माध्यमबाट अवसर सिर्जना गर्न चाहन्छौं । आगामी दिनमा थप व्यावसायिक तालिम सञ्चालन गर्ने हाम्रो योजनामा रहेको छ ।”
वडा १ न. वडाका वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्टका अनुसार, यो तालिम अन्य तालिमभन्दा भिन्न र व्यवहारिक रह्यो । “यो तालिमले युवामा आत्मनिर्भरता विकास गर्ने र भविष्यमा लघु उद्योग स्थापना गर्न सहयोग गर्नेछ,” उनले भने । उनले ३ सय भन्दा बढी एलईडी बल्ब तालिमकै क्रममा उत्पादन भएको जानकारी दिए । सहभागीहरूमध्ये प्रत्येकलाई ४–५ थान बल्बसहित तालिम प्रमाणपत्र पनि वितरण गरिएको छ । नगरपालिकाले यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।
सम्बन्धित पाेस्टहरु