लक्ष्मी माध्यामिक विद्यालय बुढीतोलामा ६१४ औं बीटीसी स्काउट आधारभूत तालिम

अत्तरिया, २० असार : कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ बुढीतोलामा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा ६१४ औं बीटीसी स्काउट आधारभूत तालिम सम्पन्न भएको छ । स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको आयोजनामा असार १५ गतेदेखि सञ्चालन भएको तालिम शुक्रबार समापन गरिएको हो । तालिममा गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा गरिएको थियो ।
६ दिनसम्म सञ्चालन भएको तालिममा गोदावरी नगर क्षेत्रका ३० जना शिक्षकले सहभागिता जनाएका थिए । समापन कार्यक्रम स्काउट प्रमुख तथा स्थानीय आयुक्त ललन प्रसाद चौबेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले स्काउटमा गरिएको लगानी सदुपयोग भएको उल्लेख गर्दै भविष्यमा पनि स्काउट कार्यक्रमलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । “स्काउट तालिमले युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्छ । गोदावरी नगरपालिकाले ‘एक विद्यालय, एक स्काउट युनिट’ को अवधारणा अघि बढाइरहेको छ,” उनले भने । नगरप्रमुख भट्टले तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरूले विद्यालय र समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
उनले स्काउटमार्फत अनुशासन, समाजसेवा र आत्मनिर्भरता सिक्न पाइने भएकाले यसलाई नियमित रूपमा सञ्चालन गर्न आग्रह गरे ।
नगर उपप्रमुख शारदा देवी रोकायाले स्काउट तालिमले विद्यार्थीहरूलाई आत्मरक्षा, विपद् व्यवस्थापन र सामाजिक सेवा गतिविधिमा सहयोग गर्ने अपेक्षा व्यक्त गरिन् । “स्काउट तालिम केवल खेल वा परेड नभई जिम्मेवारी र सेवाको अभ्यास हो,” उनले भनिन् । स्थानीय स्काउट प्रमुख ललन चौबेले तालिमले सामाजिक, शैक्षिक, नैतिक र धार्मिक क्षेत्रमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गर्दै “स्काउटमा गरिएको लगानीले सकारात्मक परिणाम दिनेछ ।,”
समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रविन्द्र रोका मगर, विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिंह कठायत, वडा सदस्यहरू, स्थानीय समाजसेवी तथा छिमेकी पालिकाका स्काउट मास्टरहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई ब्याज र प्रमाणपत्र वितरण गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.