
अत्तरिया, २१ असार : सुनचाँदी व्यवसायीहरुले कैलालीको गोदावरी नगरपालिका अत्तरियामा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै एक महिनादेखि आन्दोलीत भएका सुनचाँदी व्यवसायीहरूले आज अत्तरियामा प्रदर्शन गरेका हुन् ।
कैलाली र कञ्चनपुरका व्यवसायीले अत्तरिया बजारमा -याली निकालेका थिए भने अत्तरिया चोकमा पुगेर कोण सभा गरेका थिए । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्था हटाउन माग गर्दै सुनचाँदी व्यवसायीहरूले देशैभर प्रदर्शन गरिरहेका छन् ।
विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको उनीहरुको भनाई छ । कोण सभालाई सम्बोधन गर्दै सुनचाँदी व्यवसायी संघका सुदूरपश्चिमका प्रवक्ता रुपक सुनारले बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा दुई प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने आफूहरुको माग रहेको बताए । सरकारले हाल लागू गरेको करको व्यवस्थाले उपभोक्तालाई मात्रै नभई व्यवसायी र कालिगडको जीवनमा समेत असर पर्नजाने उनले बताए । देशको अर्थतन्त्रसंग जोडिएको, स्वरोजगारसंग जोडिएको पेशा व्यवसायीका माग सुनुवाइ गर्न सरकारले लापरवाही गरिरहेको भन्दै उनले आफूहरुका माग जायज रहेको र सुनुवाइ नभए कडा आन्दोलन गर्ने बताए ।
सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने आफूहरूको माग रहेको नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रिय सदस्य गणेश सुनारले बताए । यो आन्दोलन सुनचाँदी व्यवसायीको मात्रै नभएर उपभोक्ता सरोकार मञ्च, उद्योग वाणिज्य संघले समेत यस्मा एक्यवद्धता जनाएको उनको भनाई थियो । त्यस्तै अर्का केन्द्रिय सदस्य जगत सुनारले आवश्यक कर तिर्न आफूहरु प्रतिवद्ध रहेको समेत प्रष्ट पारे । सुन नगद भएकोले अनावश्यक कर लगाउन नहुने सुनारले बताए । त्यस्तै सुनचाँदी व्यवसायी संघका सुदूरपश्चिम सभापति सन्तोष लामीछानेले जायज कर तिर्न हरेक प्रक्रिया पुरा गर्न सुनचाँदी व्यवसायी तयार रहेको बताए ।
उनले व्यवसायीलाई स्थापित गर्नुको सट्टा सरकारले धराशायी बनाउन भूमिका खेलिरहेको आरोप लगाए । त्यस्तै कैलाली सुनचाँदी आभुषण व्यवसायी संघका अध्यक्ष मनोज खनालले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए । बजेटमार्फत सरकारले गरेको व्यवस्थाले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने देखिएको उनको भनाइ छ ।
