अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला अत्तरियाबाट लगभग २४ किलोमिटर टाढा रहेको छ । गर्मी छल्नका लागि आन्तरिक तथा वाह्य पर्यटक बुढीतोला पुग्ने गरेका छन् । बुढीतोलामात्र होइन पछिल्लो समय कैलालीको गोदावरी भन्दा पहाडको घुम्तीमा सेल्फी खिच्नका लागि पनि आन्तरिक तथा वाह्य पर्यटकहरु पुगेका हुन्छन् । बुढीतोला र गोदावरी धामको बीचमा सेल्फी डाँडा पनि रहेको छ । प्राकृति संग रमाउनेहरु सेल्फी डाँडामा पुग्ने गरेका छन् ।

अझ गोदावरी नगरपालिका वडा नं–४ बुढीतोलामा पर्यटकलाई लोभ्याउने फोर्ट हिस्टोरिक पार्क निर्माण गरिएपछि पर्यटकहरु बढ्ने गरेका छन् । व्यवसायी अशोक मल्लको पहलमा निर्माण गरिएको पार्क भिमदत्त राजमार्गबाट करिब ५ मिनेटको पैदल दुरीमा लक्ष्मी माध्यमिक विद्यालयको नजिकै, शान्त र एकान्त डाँडामा अवस्थित छ । फोर्ट हिस्टोरिक पार्कमा पुग्दा सुदूरपश्चिमको इतिहासलाई झल्कीन्छ ।

१ रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको पार्कमा लोप हुँदै गएका र पछिल्लो पुस्ताले बिर्सिंदै गएका थुप्रै प्राचिन वस्तुहरू सङ्ग्रहालयमा राखिएका छन् । साथै बाहिरी भागमा कुवा, नौला, कोलो जस्ता परम्परागत संरचनाहरू निर्माण गरिएका छन् ।

पार्कमा मनोरञ्जनका लागि चङ्गा उडाउने, तीर हान्ने आर्चरी खेल, बलुन फुटाउने निशानाबाजी खेल, घोडासवारी, पिकनिक स्पट र भ्यू टावरको समेत सुविधा उपलब्ध छ । भ्यू टावरबाट धनगढी र कञ्चनपुर लगायत आसपासका क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । अवलोकनका लागि दूरबिनको समेत व्यवस्था गरिएको छ ।

पार्कमा पिकनिक स्पटमा आवश्यक सबै भाँडाकुडा व्यवस्थापन पार्कले नै गरेको जनाएको छ । साथै मनमोहक दृश्य शैलीको सजावट भएको सङ्ग्रहालयमा राजस्थानबाट ल्याइएका आकर्षक हार, गहना लगायतका सामग्रीहरू बिक्रीका लागि राखिएका छन्, जसलाई उपहारकुटीबाट खरिद गर्न सकिने व्यवस्था छ । राजमार्गसंगै जोडिएको हुँदा प्रचारप्रसार गर्न सकेमा अझ पर्यटकहरु पुग्ने त्यहाँ पुग्नेहरु बताउने गरेका छन् । धनगढी घर भएका पवन विष्ट भन्छन्, ‘राजमार्गसंगै जोडिएको इतिहासिक पार्क हुँदा पनि सबैलाई थाह हुन सकेको छैन’, उनले भने । ‘थप व्यवस्थित गरेर प्रचार गर्न सकेमा तराईबाट मौसमी पर्यटकहरु पुग्नेछन् ।’ तराईमा बर्खायाममा गर्मी र जाडोयाममा अत्याधिक चिसो हुने हुँदा पहाड चड्नेहरुको संख्या बढ्ने उनको भनाई रहेको छ ।

घट्ट निर्माणको तयारी समेत भइरहेको र सार्वजनिक बिदाका दिनमा यो पार्क अवलोकन गर्न धेरै आगन्तुकहरू आउने गरेको सञ्चालकले बताएका छन् ।
