अत्तरिया : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्म जयन्तीको अवसरमा गोदावरी नगरस्तरीय अन्तर मावि कविता प्रतियोगिता हुने भएको छ।
अत्तरियास्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयले यहीँ असार २९ गते नगरस्तरीय अन्तर मावि कक्षा (९ र १०) कविता प्रतियोगिता आयोजना गर्ने भएको हो। प्रतियोगितामा प्रथम पुरस्कार रू.२,१००, द्वितीय पुरस्कार रू.१,६००, तृतीय पुरस्कार रू.१, १०० र सान्त्वना पुरस्कार रू. ६०० र प्रमाणपत्र दिइने समितिका संयोजक राजबहादुर कडायतले बताए। सो प्रतियोगितामा सहभागी हुनका लागि गोदावरी नगर भित्रका माध्यमिक तह (कक्षा ९ र १०)मा अध्ययनरत विद्यार्थीहरुले भाग लिन पाउनेछन्।
सहभागीले यहि असार २७ गते दिउँसो १ बजेभित्र कार्यालय वा इमेलमार्फत [email protected] कविता पठाइ सक्नुपर्नेछ। कार्यक्रममा सहभागी स्वयम् आफै उपस्थित भई असार २९ गते वाचन गर्नुपर्ने आयोजक समिति सदस्य हेमन्तराज जोशी (बाजे) ले जानकारी दिए।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो। नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन्।
मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए। भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायत कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए।