अत्तरिया, २९ असार : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा कैलालीको गोदावरी नगरपालिकामा नगरस्तरीय कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कविता प्रतियोगिताका साथै प्रभातफेरी, आदिकवि भानुभक्तको तस्वीरमा माल्यार्पण समेत गरिएको हो ।
प्रतिभा सामुदायिक पुस्तकालय, अत्तरियाको आयोजनामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका भित्रका विभिन्न विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख आतिथ्य गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले गरेका थिए । उनले भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै युवा पुस्तालाई साहित्यमा रुचि बढाउन प्रेरित गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले भने, “भानुभक्त आचार्य नेपाली साहित्यका मेरुदण्ड हुन् । वाल्मिकी रामायणको नेपाली अनुवाद गरेर उनले हाम्रो भाषामा पहिलोपटक रामायण पढ्ने अवसर दिए । मोतिराम भट्टले उनलाई आदिकवि घोषणा गरेपछि उनी राष्ट्रसाहित्यमा स्थापित भए । यस्ता प्रतिभाको स्मरण हामी सबैको कर्तव्य हो ।”
उनले अगाडि भने, “यस्ता कार्यक्रमले विद्यार्थीमा सिर्जनात्मकता बढाउँछ । कविता सिर्जना र वाचनजस्ता अभिव्यक्तिमूलक गतिविधि शिक्षासँगै संस्कार पनि दिन्छन् ।” मेयर भट्टले भानुभक्त आचार्यको तस्वीरमा माल्यार्पण गर्दै कविता प्रतियोगितामा सहभागी विद्यार्थीलाई नगदसहित प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा सत्यवती एकेडेमी, अत्तरियाका रमेश ओझा प्रथम हुँदै २ हजार एक सय नगद पुरस्कार प्राप्त गरे । दोस्रो स्थान दुर्गालक्ष्मी मावि, अत्तरियाकी सन्ध्या अवस्थीले एक हजार ६ सय र तेस्रो गोदावरी पब्लिक स्कूल, अत्तरियाकी रजनी ऐरले १ हजार एक सय र सान्त्वना पुरस्कार सिद्धबाबा मावि, गेटीकी भुमेश्वरी मडैले ६ सय रुपैयाँ सहित कदरपत्र प्राप्त गरेका हुन् ।

त्यस्तै, बाँकी सहभागी ११ जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप २ सय रुपैयाँ का दरले नगद वितरण गरिएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले गरेका थिए भने संयोजन राजबहादुर कडायतले गरेका हुन । कार्यक्रममा स्थानीय शिक्षक, अभिभावक र समाजसेवीहरुको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।