अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले कृष्णपुर स्वास्थ्य चौकीमा आइसियु सुविधा सहितको सर्पदंश उपचार सेवा आगामी आर्थिक वर्ष २०८२\०८३ देखि सञ्चालनमा ल्याइने तयारी तिब्र भइरहेको जानकारी दिएका छन् ।
सोमबार ‘नागरिकसँग मेयर’ कार्यक्रम अन्तर्गत नसर्ने रोगको पहिचान तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमको समापन समारोहमा बोल्दै नगरप्रमुख ओझाले प्रत्येक वर्ष सर्पदंशका कारण नागरिकको ज्यान गुमाएको साथै जोखिममा पर्ने घटना बढ्दै गएको भन्दै समयमै उपचार सेवा सुनिश्चित गर्न स्वास्थ्य चौकीमा सर्पदंश उपचार सेवा सञ्चालन तयारी भएको बताए ।
उनले भने “सर्पदंशका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । यस्तो समस्या समाधान गर्न कृष्णपुर स्वास्थ्य चौकीमा अत्याधुनिक आइसियु सहितको उपचार सेवा सञ्चालन गर्न लागिएको छ ।”
नगर प्रमुख ओझाले स्वास्थ्य चौकीमा सर्पदंश सञ्चालन तयारी साथै अन्य स्वास्थ्य चौकीमा निःशुल्क ९८ वटा प्रकारका औषधिहरू निःशुल्क उपलब्ध, निःशुल्क एम्बुलेन्स सेवा साथै २४औं घण्टा नागरिकलाई सेवा उपलब्ध गराउँदै आईरहेको बताए । नगरप्रमुख ओझाले नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट व्यवस्थापन सहित पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको जानकारी समेत दिए ।
सम्बन्धित पाेस्टहरु