गोदावरी नगरमा वृक्षारोपण र फूल रोपण अभियान

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ पृथ्वीनगर टोल अत्तरियामा रहेको शिव मन्दिर परिसरमा वृक्षारोपणसँगै सयपत्री फूलका विरुवा रोप्ने अभियान सुरु गरिएको छ । नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा चितवनबाट ल्याइएका उन्नत जातका पाँच हजारभन्दा बढी सयपत्री फूलका बिरुवा मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै रोपण कार्य सुरु गरिएको हो ।
यही अवसरमा अत्तरिया–धनगढी ६ लेन सडक खण्डको गोदावरी नगरपालिकाभित्र पर्ने मिडियन क्षेत्रमा समेत सयपत्रीका हजारौं बिरुवा रोपिएको छ । नगर प्रमुख भट्ट, कर्मचारी र कामदार टोलीले संयुक्त रूपमा फूल रोपण कार्य सम्पन्न गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले भने, “गोदावरी नगरलाई हरित, स्वच्छ र धार्मिक पर्यटकीय गन्तव्य बनाउने हाम्रो दीर्घकालीन योजना हो । प्रमुख चोक, मन्दिर, सडक मिडियन र सार्वजनिक स्थलहरूलाई हरियाली र सौन्दर्ययुक्त बनाउन हामी निरन्तर लागिपरेका छौं ।“
उनले दशैं, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै प्लास्टिकजन्य सजावटी सामग्रीको सट्टा स्वदेशमै उत्पादित प्राकृतिक फूलको प्रयोगमा जोड दिने नगरको प्राथमिकता रहेको बताए । “प्लास्टिक प्रयोग घटाउने, वातावरणमैत्री उपायहरू अपनाउने र नगरवासीको सहभागितामा स्वच्छ, हरित र आत्मनिर्भर गोदावरी निर्माण हाम्रो लक्ष्य हो,” भट्टले भने ।
नेपाली कांग्रेसका युवा नेता हरी भट्टराईले चितवनबाट गुणस्तरीय र सस्तो फूलका बिरुवा ल्याइएको जानकारी दिँदै मठमन्दिर वरिपरि र फोक्सेडाँडालगायत स्थानमा पनि फूल रोप्ने योजना रहेको बताए । उक्त अभियानले धार्मिक पर्यटनको प्रवद्र्धन, वातावरणीय संरक्षण र नगरको सौन्दर्य अभिवृद्धिमा सकारात्मक योगदान पु¥याउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.