अत्तरिया : गोदावरी नगरपालिका वडा नम्बर–३ चौकीडाँडामा निर्माण सम्पन्न एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र तथा दिसाजन्य फोहोर प्रशोधन तथा व्यवस्थापन केन्द्र संचालनको छलफल भएको छ । आईतबार क्षेत्रिय सहरी विकास धनगढी कैलालीको आयोजना अन्तर्गत समुदायिको सवलीकरण कार्यक्रम अन्तर्गत तलिम तथा फोहर मैला व्यवस्थापन वारे छलफल कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्टले नगरपालिकामा एकीकृत फोहोर मैला व्यवस्थापन सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको बताउँदै विकास कार्य जनप्रतिनिधि मात्रले गरेर नहुने, सबै नागरिकको ऐक्यबद्धता र सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे । नगर प्रमुख भट्टले “हामी सकारात्मक सोचका साथ विकासतर्फ अघि बढ्यौं भने मात्र समग्र क्षेत्रमा अपेक्षित विकास सम्भव हुन्छ ।,” उनले वडास्तरीय टोलहरूमा पुगेर फोहोर संकलन र व्यवस्थापनसम्बन्धी जनचेतना फैलाउनु पर्नेमा जोड दिँदै फोहोर संकलनको बेला घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर दिन सकेमा वर्गीकरण सहज हुने र यसले नागरिकहरूमा तत्काल प्रभाव पार्ने बताए ।
नगर प्रमुख भट्टले बजार क्षेत्रमा केही हदसम्म सचेतना भए पनि केही व्यक्तिहरूले जानीजानी फोहोर अस्तव्यस्त रूपमा फालिरहेको उल्लेख गर्दै त्यसप्रति ध्यान दिन आग्रह गरे । नगरको विकासमा जनप्रतिनिधिले मात्र नभई सम्पूर्ण नगरवासीले मिलेर स्वच्छ, सफा र सुन्दर शहर निर्माणमा जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । कार्यक्रममा वडाध्यक्ष, कर्मचारी, कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
