फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण : प्रमुख प्रशासकीय अधिकृत विनाडी

अत्तरिया : गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले फोहोरमैला व्यवस्थापन एक जटिल र चुनौतीपूर्ण विषय भएको बताएका छन् । आईतबार भएको फोहोर व्यवस्थापन सम्बन्धित छलफलमा उनले नगरभित्र सरसफाइको दिगो समाधानका लागि फोहोर श्रोतमै वर्गीकरण गर्नु अत्यन्त जरुरी रहेको धारणा व्यक्त गरे ।
आईतबार गोदावरी नगरपालिका तेघरीमा आयोजित फोहोरमैला व्यवस्थापन बारे तालिम तथा छलफलमा बोल्दै उनले फोहोर संकलन सवारी साधनहरूको तालिका मिलाउनु पर्ने आवश्यक रहेको बताउँदै सड्ने फोहोर र नसड्ने फोहोर गाडी तालिकालाई नियमित रूपमा लागू गर्न सक्यौं भने देखि फोहोर वर्गीकरण सहित व्यवस्थापन हुने साथै फोहोर व्यवस्थापन गर्न नमानेमा जरिवाना गर्न पनि उचित हुने उनले बताए ।
उनले नागरिकलाई नगरपालिकाले फोहोर संकलनको लागी न्यूनतम शुल्क लिने व्यवस्था सहितको कार्यविधि तयार गरिएको बताए । नदीमा साथै जथाभावी फोहोर फाल्ने व्यक्तिहरूमाथि कडाइका साथ जरिवाना गरिने र उक्त जरिवानाबाट संकलित रकमको केही प्रतिशत टोलस्तरीय व्यवस्थापन समितिहरूलाई प्रदान गरिने व्यवस्था गरिने बताउँदै यसले स्थानीय तहमा जिम्मेवारी र सहभागिता बढाउने अपेक्षा गरिएको उनले बताए ।
“फोहोर संकलन गर्ने गाडीका तालिका कडाइका साथ लागू गर्न सक्यौं भने नगरको फोहोर व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउन सकिन्छ,” प्रमुख प्रशासकीय अधिकृत विनाडीले भने । उनले फोहोर मैला व्यवस्थापन केन्द्रले उत्पादन गरेको जैविक मल कृषिमा अनुदान लिने किसान समूहहरूलाई उपलब्ध गराउने साथै यसले अर्गानिक खेतीप्रति कृषकहरूलाई आकर्षित गर्ने र समग्र नगरको कृषि प्रणालीलाई वातावरणमैत्री बनाउने अपेक्षा गरिएको बताए ।
त्यस्तै, विद्यालयहरूमा सेनेटरी प्याड डिस्पोजल मेसिन ल्याउने कार्यक्रम सञ्चालन गरेर आगामी दिनमा विद्यालय बाटै सेनेटरी प्याड डिस्पोजल गर्न सक्यौं भने विद्यार्थीको व्यक्तिगत सरसफाइमा सुधार ल्याउनुका साथै फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास गरिएको बताए ।
नगरपालिकाले सरसफाइ र फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी समुदाय, विद्यालय र किसान समूहहरूसँग सहकार्य गर्दै अघि बढिरहेको उनले बताए । कार्यक्रममा फोहोर मैला व्यवस्थापन सम्बन्धी बारेमा छलफल तथा सहजीकरण ग्रीन सुदूरपश्चिम परामर्श तथा स्वच्छ वातावरण प्रालिको व्यवस्थापन निर्देशक केशवराज पन्तले गरेका थिए । फोहोरमैला व्यवस्थापन सम्बन्धी छलफल आयोजित कार्यक्रममा फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्ने सम्बन्धी, फोहोर व्यवस्थापन सम्बन्धी सचेतना अभियान कार्यक्रम गर्न आवश्यक, गोदावरी नगरपालिका भित्र कुन क्षेत्रमा फोहोर संकलन कन्टेनर राख्ने सम्बन्धी छलफल गरिएको थियो । यस्तै आयोजित कार्यक्रम गोदावरी नगरपालिका सहकार्य, ग्रीन सुदूरपश्चिम परामर्श तथा स्वच्छ वातावरण प्रालीको व्यवस्थान सहयोग, सिचुन प्रोभिन्स जियोलोजिकल इन्जिनियरिंग कम्प्लेक्स कम्पनी लि निर्माण व्यावसायी रहेको थियो । कार्यक्रममा वडाध्यक्ष, कर्मचारी, कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.