अत्तरिया : प्रधानमन्त्रीको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी दुर्घटनामा परे। कैलालीको लम्कीमा दुई मन्त्री सवार गाडी आपसमा ठोक्किए, जसका कारण गाडीमा क्षति पुगेको छ। दुर्घटनामा मानवीय क्षति नभएको र मन्त्रीहरू अर्को गाडीबाट कार्यक्रमस्थलतर्फ प्रस्थान गरेका छन्।
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन हुइँकिएका सुदूरपश्चिम प्रदेशका दुई मन्त्री दुर्घटनामा परेका छन् ।
रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की त्यसतर्फ जाँदै थिए ।
तर, दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटनामा भएको छ। मंगलबार कैलालीको लम्कीमा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै, अगाडि रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको से.१ झ ३३० मम्बरको कालो रङको गाडी का चालकले बाटोमा रहेका एक व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएका थिए । सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किए ।
त्यही बेला पछाडिबाट तीव्र गतिमा आइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बा.२ झ १४१९ नम्बरको रातो रङको गाडी कालो गाडीमा ठोक्किएको थियो । ठक्करबाट कानूनमन्त्री सवार रातो गाडीको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भई चल्न नसक्ने अवस्थामा छ। यस्तै भौतिक पूर्वाधारमन्त्री सवार कालो गाडीको पछाडिपट्टि क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन। दुवै मन्त्री सुरक्षित छन् भने उनीहरू अर्को गाडीको व्यवस्था गरी चिसापानी पुगेका छन् । प्रहरीले घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।