धनगढी उपमहानगरपालिकाको टोली बडीमालिका प्रस्थान

अत्तरिया : सुदूरपश्चिमको प्रमुख शक्तिपिठका रूपमा रहेको बडिमालिकामा पूजाका लागि धनगढी उपमहानगरपालिकाको सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ। नगरवासीको सुख शान्तिको कामना गर्दै उपमेयर कन्दकला रानाको नेतृत्वमा पहिलो पटक उपमहानगरपालिकाको टोली आइतबार बिहान बाजुरामा रहेको बडिमालिका प्रस्थान गरेको हो।
उपमेयर राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खाती सहित नगरका कर्मचारी र नगरप्रहरी सहितको टोली धनगढीको वनदेवी मन्दिरबाट पूजा सामग्री सहित बडिमालिका प्रस्थान गरेको हो। ‘धनगढीवासीको सुखशान्ति र समृद्धीको कामना सहित पहिलो पटक सरकारी टोली बडिमालिका जान थालेको हो। अर्को वर्षदेखि निरन्तर सरकारी टोली पूजा सामग्रीसहित बडिमालिका जानेछ’, उपमेयर कन्दकला रानाले भनिन। उनले नगरप्रमुख गोपाल हमालको प्रस्तावमा नगरपरिषदको बैठकले यस्तो निर्णय गरेको बताइन्।
सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल बाजुरा स्थित बडीमालिका माईको मन्दिरमा साउन २३ गते चतुर्दशीका दिन लाग्ने धार्मिक मेलाका अवसरमा धनगढी उप‐महानगरपालिकाको सरकारी पूजा टोली प्रस्थान गरेको हो।
नगर उपप्रमुख रानाले ४५ जनाको समूहमा टोली बडीमालिकाका लागि प्रस्थान गरेको बताएकी छन्। धनगढी उपमहानगरपालिकाको टोलीले धनगढीको वनदेवी मन्दिरमा पूजासहित विधि पूर्वक यात्रा सुरु गरेको हो। वनदेवी मन्दिरमा नगरप्रहरीको टोलीले सरकारी टोली र पूजा सामग्रीलाई सलामीसहित बिदाइ गरेको थियो।

बडिमालिकामा यसअघि सुदूरपश्चिमको डोटी र बाजुराबाट मात्रै सरकारी टोली पूजा सामग्री (पटेरो) सहित बडिमालिका जाने गरिएकोमा यसपालीदेखि उपमहानगरपालिकाको पनि सरकारी पूजा सामग्री सहित टोली जाने भएको हो। धनगढीबाट यो यात्रा कम्तीमा पनि ८ दिनको हुनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.