बडिमालिका तीर्थयात्राका लागी बाजुराबाट सरकारी टोली पदयात्रामा

बाजुरा : बाजुराको प्रमुख धार्मिकस्थल बडिमालिकाको विशेष पूजा अवसरमा सरकारी टोली आज बिहान सदरमुकाम मार्तडीबाट डोलीसहित प्रस्थान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा, बडीमालिका नगरपालिकाका वडाध्यक्ष अर्जुन नाथको समन्वयमा टोलीले यात्रा आरम्भ गरेको हो ।

बडिमालिका दर्शनका लागि जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले औपचारिक रूपमा सलामी अर्पण गरी बिदाई गरेको छ । टोली चार दिनको पदयात्रा पश्चात चतुर्दशीका दिन बडिमालिका मन्दिरमा पुग्ने र त्यहाँ विशेष पूजा तथा मेला आयोजना हुनेछ ।

यस पवित्र अवसरलाई मध्यनजर गर्दै देशभरका भक्तजन तथा पर्यटक बडिमालिका र बुढिनन्दा क्षेत्रतर्फ प्रस्थान गरिरहेका छन् । मेलामा सहभागी हुन श्रद्धालुहरू केही दिन अघिदेखि नै मार्गतर्फ लागेका छन् । साउन २३ गते बडिमालिका र बुढिनन्दामा मुख्य पूजा सम्पन्न हुने जनाइएको छ । बडिमालिका पूजा व्यवस्थापन समितिका अनुसार यस वर्ष अघिल्ला वर्षहरूभन्दा धेरै श्रद्धालुहरूको उपस्थिति हुने अपेक्षा गरिएको बडिमालिका नगरपालिकाकि उप प्रमुख नन्दा थापाले जानकारी दिएका छन । देश–विदेशका भक्तजनहरू यो धार्मिक अवसरमा सहभागी हुने परम्परा पनि रहेको थापाले बताए।

बाजुराका बडिमालिका र बुढिनन्दा तीर्थस्थलहरू केवल धार्मिक आस्थाका प्रतीक मात्र नभई, पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण गन्तव्यका रूपमा परिचित भएको स्थानीय गोपाल थापाले बताएका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.