कञ्चनपुर : आइतबार राति देखि आएको बर्षाका कारण कञ्चनप्रको दोधारा चाँदनी नगरपालिकाका विभिन्न वडाको भरिएको पानी विस्तारै घट्दै गएको छ । लगातारको वर्षापछि आएको बाढीका कारण दोधारा चाँदनी नगरपालिकाका विभिन्न वडाका विस्थापित बासिन्दा अझै विद्यालयमै बसिरहेका छन् ।
वर्षा कम भएपछि महाकाली र जोगबुडा नदीको बहाव घटे पनि त्रासका कारण विस्थापित अहिले नै घर फर्किन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
‘बहाव घटदै गएको छ, साँझसम्म वर्षा नभए केही विस्थापित घर फर्किन सक्ने अवस्था हुन्छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले भने, ‘अहिले महाकाली र जोगबुडा दुवै नदीको बहाव घटिरहेको छ, बिस्तारै डुबान पनि कम हुन्छ ।’ महाकालीको बाढीले जोगबुडा नदीको बहाव रोकिँदा नदी किनारका आधा दर्जन बस्तीहरु डुबानमा परेका थिए ।
वडा नं. ३ को पटेराखल्ला, वडा नं. ८ को रामपुरे टापु र जर्गा टोल तथा वडा नं. १० को शन्ति टोल लगायतका क्षेत्रबाट ५४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । साथै वडा नं. ७ र १० मा रहेको सशस्त्र प्रहरीको बीओपीसमेत विस्थपित भएको छ ।
प्रहरीका अनुसार महाकाली नदीको बहाव पनि घटदै गएको छ । सोमबार साँझ २ लाख ३८ हजार क्युसेक पुगेकामा मंगलबार बिहान ७ बजेको मापन अनुसार १ लाख ७४ हजार क्युसेकमा झरेको छ ।