चौकीडाँडा–फल्टुडे सडक निर्माणमा लापरबाहीविरुद्ध सांसद देवकोटाको ऐक्यबद्धता

अत्तरिया : सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटाले चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ठेकेदार कम्पनीले गरेको चरम लापरबाही विरुद्ध आवाज उठाउँदै सडक बाट कार्यालय संचालन गरी आन्दोलनमा रहेका गोदावरी नगरपालिका–३, १०, ११ र १२ का वडाध्यक्षहरूको कदम प्रति ऐक्यबद्धता जनाएकी छन् ।
“प्रदेश सरकारले विकासका लागि बजेट छुट्याए पनि लगातार ६ वर्षसम्म चौकीडाँडा–फल्टुडे सडक निर्माण सम्पन्न हुन सकेको छैन । यसमा ठेकेदार कम्पनीको चरम लापरबाही जिम्मेवार छ’’ उनले भनिन् ।
सांसद देवकोटाले प्रदेश सरकारले तत्काल अनुगमन गरी निर्माण कम्पनीसँग छलफल गरेर सडक निर्माण कार्यलाई सघन रूपमा अघि बढाउनुपर्नेमा जोड दिइन् ।
त्यसैगरी, सडक निर्माण कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकाय र मन्त्रालयसँग आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन । सडक बाट कार्यालय संचालन दबाब मुलक आन्दोलनमा वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डू) ले दुई दिनसम्म कार्यालय सडकमै सञ्चालन गर्ने र तेस्रो दिन अत्तरिया चोकमा सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि नै जिल्ला प्रशासन कार्यालय (सीडीओ) र भौतिक पूर्वाधार कार्यालयमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको उनले बताइन ।
छ वर्षसम्म सडक निर्माण नहुँदा वडा नं. ३, १०, ११ र १२ का बासिन्दाले ठूलो सास्ती भोग्नु परेको छ । भारतमा ५–६ वर्ष मिहिनेत गरेर ४–५ लाखमा अटो किनेका स्थानीयले सडक अभावका कारण ती गाडी पाँच महिनामै बिग्रिने अवस्था आएको गुनासो गरेका छन् । गर्भवती महिलाले बाटोमै बच्चा जन्माउनुपर्ने, सर्पदंशको उपचारका लागि समयमै अस्पताल पुगाउन नसकिने समस्या पनि दोहोरिँदै आएको छ । अटो रोजगार लगायत व्यक्तिहरू उचित सडक नहुँदा बासिन्दाहरू रोजगारीका लागि फेरि भारत फर्कनुपर्ने बाध्यता समेत सिर्जना भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.