अत्तरिया, २३ भदौ : सरकारले दर्ता नगरेका सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाएपछि आन्दोलन काठमाडौं मात्र नभई अत्तरिया सम्म फैलिएको छ । जेनजी पुस्ताले सोमबार अत्तरिया चोकमा प्रदर्शन गर्दै सामाजिक सञ्जाल सञ्चालन, पारदर्शिता र भ्रष्टाचार अन्त्यको माग गरेका हुन् ।
अत्तरियामा पनि स्थानीय युवाहरूले डिजिटल स्वतन्त्रताको पक्षमा नाराबाजी गरेका छन् । “युवा शक्ति एक हौ, यो देश हाम्रो भविष्य हो भ्रष्टचारी अन्त्य गरौं, गरिबको छोरो मार्न पाइँदैन, हाम्रो आवाज रोकिने छैन“, भ्रष्ट सरकार खारेज गर, हत्यारा सरकार मुर्दाबाद, जस्तानारा बाजी गरेका हुन् ।
सरकारले फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम लगायत २६ भन्दा बढी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि जेन–जी पुस्ता सडकमा उत्रिएका हुन् ।
विशेषज्ञहरूका अनुसार यो आन्दोलन केवल सामाजिक सञ्जाल पुनः सञ्चालनको माग मात्र नभई नयाँ पुस्ताको राजनीतिक चेतना र भ्रष्टाचारविरुद्धको हुँकारको प्रतीक बनेको छ ।
मिलेनियल पुस्तापछि आएको जनरेशन (जेन जी) हाल विश्वभर चर्चाको विषय बनेको छ । सन् १९९७ देखि २०१२ बीच जन्मिएका मानिसलाई यो पुस्तामा वर्गीकृत गरिएको छ । विशेषगरी यो पुस्ता जन्मेदेखि नै इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँग नजिक भएकाले प्रविधिमै हुर्किएको पुस्ता मानिन्छ । डिजिटल वातावरणमा सहज, छिटो परिवर्तनमा ढल्न सक्ने क्षमता, सामाजिक र सांस्कृतिक विषयप्रति सचेत रहनु यसको मुख्य विशेषता हो ।
शोधकर्ताहरूका अनुसार जेन जी पुस्ता नवप्रवर्तनशील, प्रविधिमैत्री, आत्मविश्वासी र स्वतन्त्र सोच भएको मानिन्छ। नेपालमा पनि यस पुस्ताको सक्रियता बढ्दै गएको छ । शैक्षिक क्षेत्रमा डिजिटल सिकाइको प्रयोग, रोजगारीका लागि अनलाइन प्लेटफर्मको खोजी र सामाजिक सञ्जालमा आफ्नो विचार प्रष्ट रूपमा व्यक्त गर्ने प्रवृत्तिले यो पुस्ताको विशिष्टता झल्काउँछ ।
सम्बन्धित पाेस्टहरु