तहसनहस गोदावरी नगरपालिका कार्यालय
सबै सकिएको छ, केही बाँकी छैन । अब बन्ने अन्तरिम सरकारले जे निर्देशन दिन्छ, त्यहीँ गरिन्छ : प्रमुख जिल्ला अधिकारी
अत्तरिया : देशको अवस्था साम्मे भएको छैन । नेपाली सेनाले बुधबारदेखि लगाएको निशेधित क्षेत्र कफुर्य जारी नै छ । तर, त्यति कडाई भने छैन । जनजीवन सामान्य बन्दै गएको छ । बुधबार तीन तहको सरकार कुनै पनि सञ्चालनमा आउन सकेका छैन । आज पनि सरकारका निकायले काम गर्न सकेको छैन । जेनजीको आन्दोलन भएको ताडेफोड र आगजानीले कति क्षति भएको छ । त्यसको कुनै लेखाजोखा भएको छैन ।
गोदावरी नगरपालिकामा मंगलबार भएको तोड्फोडले कुनै पनि शाखा छिर्न सक्ने अवस्थामा छैन । राज्यको सम्पति पुरै तहसनहस भएको छ । कार्यालय सञ्चालनमा आएको दुई बर्ष नपुग्दै जेनजी समुहले काम नै नलाग्ने गरी क्षति पुगाएका छन् । यस बारेमा यो समाचार तयार पार्दा सम्म कुनै पनि निकायको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
मङ्गलवार बिहान साढे १० बजे सुरुमा गोदावरी नगरपालिका कार्यालय निसाना बनाएका जेनजीका समर्थकलाई रोक्न प्रहरीले सामान्य बल प्रयोग गरेपछि सिसा तोड्फोड गरेर फर्किएका उनीहरू पुनः अत्तरिया क्षेत्रमा रहेका पार्टीका कार्यालय, नेता, जनप्रतिनिधिका घर जलाएर फेरि नगरपालिका पुगेका थिए ।
दोस्रो पटक नगरपालिका कार्यालय पुगेका उनीहरूले नगरपालिका ध्वस्त नै पारे । उनीहरूले नगरपालिका कार्यालय भित्रै आगजनी गर्नुका साथै नगरपालिका परिसरमा रहेका मोटरसाइकलमा समेत आगजनी गरेका थिए । आगजनी र तोडफोड पछि नगरपालिका कार्यालय पुरै तहसनहस भएको छ ।
जेनजी पुस्ताले गरेको आक्रमण मेयर, उपमेयर बस्ने कार्यकक्ष देखि विभिन्न शाखाहरुमा कुनै पनि सामग्रीहरु काम लाग्ने अवस्थामा छैन । कागजात कति जले कति चोरी भए त्यसबारेमा केहि वाहिर आएको छैन । अग्नी पोष्ट टिम बुधबार दिउँसो नगरपालिका भित्र छिर्दा सिसाको बस्तुहरु एक पनि ठीक अवस्थामा रहेको छैन । आर्थिक प्रशासन शाखा समेत ध्वस्त पारेको अवस्था छ । गोदावरीका वडाहरु समेत सबैमा क्षति पुगाएको स्थानीयहरुले जानकारी दिएका छन् । जनप्रतिनिधिहरु यस बारेमा बोल्न मानेका छैन ।
स्टोरुम पनि तहनहस पारेको छ । मंगलबार भएको आन्दोलनका क्रममा कैलालीका विभिन्न स्थानीय तहमा तोडफोड भएको थियो । धनगढी उपमहानगरपालिकामा क्षति नपुगाए पनि अन्य सबै जस्तो पालिकामा क्षति पुगाएको छ । कैलालीका स्थानीय तहका भवनहरु पनि जलाईएको हो । गौरीगंगा, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिकामा समेत आगजनी गरिएको छ । स्थानीय स्तरका महत्वपूर्ण कागजात, सेवा प्रवाहका उपकरण र सामग्रीहरू जलेर नष्ट भएका छन् ।
घोडाघोडी नगरपालिकाको कार्यालय पूर्ण रूपमा तोडफोड गर्दै आगजनी गरेका छन । त्यसको साथै घोडाघोडीका वडा नम्बर १, २, ३ र ४ वडा कार्यालयमा आगजनी गरेका छन उनीहरुले नगर प्रमुख बस्ने निवास र प्रमुख प्रशासकीय अधिकृत बस्ने निवासमा तोडफोड गर्दे आगजनी गरेका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ र १३ को कार्यालयमा पनि तोडफोड गरेका छन । कुनै पनि स्थानीय सरकारले आफ्नो कार्यालयमा भएको क्षतिका बारेमा सार्वजनिक गरेका छैन । बुधबार कार्यालय सञ्चालन नभएको हुँदा पनि होला कार्यालय कोहि पनि आएनन् । कार्यालय सञ्चालन भएपछि सबै क्षतिको बारेमा थाह हुने अनुमान गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले कञ्चनपुरमा विभिन्न सरकारी कार्यालयहरु तेडफोड गरेका छन् । डडेल्धुरामा पनि जेन जीले दिनभरि प्रदर्शन गरेका थिए । जिल्ला प्रशासन कार्यालय घेराउ गरेका त्यहाँका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरूले एमाले पार्टी कार्यालयमा पनि तोडफोड गरेका थिए ।
दार्चुलामा पनि पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । बैतडीमा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका थिए । जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले गरेको दमनको विरोध गर्दै युवा विद्यार्थीहरु स्वस्फूर्त रुपमा प्रदर्शनमा उत्रेका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले र सुरक्षाको लागि थप उपायहरू अवलम्बन गर्नुपर्ने बताएका छन् । “सबै सकिएको छ, केही बाकी छैन । अब बन्ने अन्तरिम सरकारले जे निर्देशन दिन्छ, त्यहीँ गरिन्छ ।” उनले भने । आन्दोलनमा भएको क्षतिको यकिन विवरण संकलन भईरहेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिएका छन ।
प्रदर्शनकारीहरूले धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय, प्रदेश सभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था तथा कृषि मन्त्रालय, सहरी विकास तथा भवन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, सीटीईभीटी प्रदेश कार्यालय, जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, यातायात कार्यालय, जिल्ला डिभिजन वन कार्यालय लगायतका भवनमा आक्रमण गरि आगजनी र तोडफोड गरेका छन् ।