काठमाण्डौँ : राष्ट्रपति कार्यालय शितल निवासमा भर्खरै भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अहिले ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण गराइने भएको छ।
राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीको नियुक्ति र शपथलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्नेछ। त्यही बैठकले प्रतिनिधिसभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सहमति भएको छ।
आन्दोलनरत जेनजी युवाहरूको मागअनुरूप संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो। राष्ट्रपति रामचन्द्र पौडेल र जेन(जी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो।
राष्ट्रपति पौडेलले कार्कीलाई म तपाईंलाई प्रधानमन्त्री नियुक्त गर्छु र प्रधानमन्त्री भएपछि पहिलो मन्त्रिपरिषद बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनू भनेका थिए। तर आन्दोलनरत जेनजीका प्रतिनिधिहरू संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे। त्यही आधारमा वार्ता लम्बिँदै गएको थियो।