तोडफोडमा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउ : गोदावरी कांग्रेस

अत्तरिया : नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले देशभर चलिरहेको जेन–जी आन्दोलनका क्रममा शहादत प्राप्त व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । नगर समितिले घाइते भएका सबै व्यक्तिहरूको छिटो स्वास्थ्य लाभको कामना गर्दै सरकारले निःशुल्क उपचारको व्यवस्था गर्न जोडदार माग गरेको हो ।

अध्यक्ष शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि भएको सङ्घातपूर्ण हमलाको भत्र्सना गर्दै नगर समितिले दोषीहरूलाई छिटो कानुनी दायरामा ल्याउन पनि जोड दिएको छ । कांग्रेसले जनभावना र युवापुस्ताले उठाएको राजनीतिक परिवर्तनको मागप्रति सम्मान प्रकट गर्दै भनेको छ कि लोकतान्त्रिक मूल्य र मान्यताप्रति आधारित संवैधानिक र मर्यादित उपायबाहेक कुनै पनि आन्दोलन अघि बढ्न सक्दैन । सरकार र सम्बन्धित निकायहरूले अनावश्यक दमन नगरी संवाद र सहमतिबाट समस्याको समाधान गर्नुपर्नेमा पार्टी जोड दिन्छ ।

यस्तै, आन्दोलनमा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ विवरण सार्वजनिक गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग पनि गरिएको छ । गोदावरी नगर समितिले जेन–जी आन्दोलनका जायज मागलाई समर्थन गर्दै लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ । नगर सभापति विरबहादुर चोखालका अनुसार, लोकतन्त्र, समानता र सामाजिक न्यायका पक्षमा नेपाली कांग्रेस नगर कार्यसमिति सधैं अगाडि रहनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.