क्षतिग्रस्त भवनहरुको निरीक्षणमा सुदूरपश्चिमका मुख्यमन्त्री

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी आन्दोलनका क्रममा यहि भदौ २४ गते भएकोे तोडफोड र आगजनीबाट क्षतिग्रस्त भौतिक संरचनाका भवनहरुको निरीक्षण गरेका छन ।
आगजनी भएको ८ दिनपछि मुख्यमन्त्री शाह सहितको टिमले सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेका विभिन्न कार्यालयको अनुगमन गरेको हो । २४ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सुरक्षा समितिको बैठक जारी रहेको वेला वाहिरबाट तोडफोड र आगजनीभएपछि मुख्यमन्त्री र मन्त्रीहरु पछाडीको गेटबाट नेपाली सेनाले उद्धार गरेर तेघरीमा रहेको ब्यारेकमा पुगाएको थियो ।
उनले २५ वटा सरकारी कार्यालयको अनुगमन गर्दै भएको क्षतिको बारेमा जानकारी लिनुका साथै जनताको अत्यावश्यकीय सेवा प्रवाह हुने मन्त्रालय र कार्यालयहरुलाई सकेसम्म चाँडै सेवा सुचारु गर्न निर्देशन दिए ।
मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालयबाट धेरै क्षेत्रको काम हुने भएका कारण काम सुचारु गर्न मन्त्री मेघराज खड्का र कर्मचारीहरुलाई निर्देशन दिए । उनले सामाजिक विकास मन्त्रालयमा त्यति धेरै क्षति नभएका कारण आवश्यक सामानको व्यवस्था गरेर काम सञ्चालन गर्न सकिने उल्लेख गरे ।
त्यस्तै, अनुगमनको क्रममा मुख्यमन्त्री शाहले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई धनगढीबाट दिन नसकिरहेको सेवा टीकापुर इलाका प्रशासन कार्यालयबाट दिन सुझाव दिए । इलाका प्रशासन कार्यालयमा क्षति नभएका कारण त्यहाँबाट सबै सेवा दिन सकिने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । उनले यस विषयमा छलफल गरेर अगाडि बढ्ने उल्लेख गरे ।
मुख्यमन्त्री शाहले कतिपय कार्यालयबाट सेवा चाँडै र कतिपयको सेवा तत्काल दिन नसकिने अवस्था देखिएको उल्लेख गरे । उनले सुदूरपश्चिम प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालय, विषयगत समितिका कार्यालय, संसदीय दलका कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, पर्यटन, सामाजिक विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुगमन गरे ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय, कैलाली जिल्ला अदालत, मालपोत, नापी, कैलाली भन्सार, डिभिजन वन कार्यालय, यातायात व्यवस्था कार्यालय, धनगढी सभा गृह लगायतका कार्यालयको पनि अनुगमन गरे ।
यस्तै अनुगमनका क्रममा सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामाथि क्षति हुनु राम्रो नभएको बताए ।
प्रदेशसभा परिसरमा मंगबालबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभामुख भण्डारीले यस्तो बताएका हुन् ।
उनले भने ‘जेनजी प्रदर्शनको क्रममा जुन भौतिक संरचनामाथि क्षति भएको छ । जे नहुनु पर्ने थियो । त्यो भइहाल्यो अब समालिनुपर्छ ।’उनले उनले भने ‘बिगतदेखि विकासका दृष्टीले केन्द्रीय राज्यसत्ताबाट यो क्षेत्र धेरै पछाडि पारिएको क्षेत्र हो । आज दिनमा जुन भौतिक संरचना ध्वस्त पारिएको छ । अन्य प्रदेशभन्दा यहाँ बढी क्षति भएको छ । कतै हामी सुदूरपश्चिमबासीको नबने नबनाउने होकी भन्ने मलाई लागेको छ ।’
उनले कुनै नेतृत्वको कमी कमजोरी, राजनीतिक हिसाबले भएका केही समस्याका कारण भौतिक संरचनामा क्षति पु¥याउनु राम्रो नभएको बताए ।
उनले भने ‘हामी नरहन पनि सक्छौँ । पाँच वर्षका लागि चुनिएर आएका हौँ । भोलि यो व्यवस्था रही रहे भने भोलि आउने मान्छेलाई त चाहिन्छ होला ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.