कैलालीमा दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जना पक्राउ

अत्तरिया : जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएका दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले मंगलबार गौरीगंगा नगरपालिकाको चौमालाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–१ बस्ने १९ वर्षीय समीर खड्का, १९ कै आभाष चन्द,गौरीगंगा–३ बस्ने २२ वर्षीय जिवेश सापकोटा र हिमाल आचार्य रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले उनीहरू चारै जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको पुष्टि गरे ।

चन्दले उनीहरूको साथबाट टाईप–५४ र रिभल्भर गरेर दुई वटा पेस्तोल तथा २८ राउन्ड गोली बरामद गरिएको बताए । पक्राउ परेकाहरूले जेनजी आन्दोलनका क्रममा ती हतियार ट्राफिक महाशाखा बग्गीखानाबाट लुटेको बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई अपराध महाशाखा काठमाडौं पठाउने तयारी भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.