अत्तरिया : कैलालीमा एक युवालाई वडाध्यक्षले भौतिक आक्रमण गरेका छन् । घोडाघोडी नगरपालिका ८ का वडाध्यक्ष वीरबहादुर साउदले विकाससम्बन्धी प्रश्न गरेपछि आफूमाथि आक्रमण भएको स्थानीय सुनिल खड्काले बताए ।
‘वडाध्यक्षलाई मैले तपाईँको कार्यकालमा किन विकास भएन अब धेरै समय छैन कहिले विकास गर्नुहुन्छ ? भनेर प्रश्न गरेको थिएँ, उहाँले केहीबेरपछि तँ बढ्ता बोल्छस् भनेर टाउकोमा ढुङ्गाले हान्नुभयो’ उनले भने ।
आफूलाई जेनजी आन्दोलनमा संलग्न भएको र वडा कार्यालय जलेको भन्दै आक्रमण गर्न लगाएको उनले आरोप लगाएका छन् । ‘यो जेनजीको आन्दोलन गर्ने मान्छे हो यसले गर्दा हाम्रो वडा पनि जल्यो यसलाई मार्नुपर्छ भनेर २ जनालाई मेरो पछाडि लगाइयो ’ घाइतेले इलाका प्रहरी कार्यालयमा सुखडमा प्रहरीसमक्ष भने ।
घाइतेका दाजु हिक्मत खड्काले पनि भाइमाथि आक्रमण गर्ने वडाध्यक्षलाई कारबाही हुनुपर्ने माग गरे । ‘विकासको लागि मेरो भाइले कुरा उठाएको थियो । त्यही विषयमा कुटपिट भयो । दोषीलाई कारबाही हुनुपर्छ हुनुपर्छ ’, उनले भने, ‘यस्तो गुण्डागर्दी अब चल्दैन । ’
वडाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी परेको छ । वडाध्यक्ष साउद पक्राउ परिसकेको डीएसपी रमेशदत्त अवस्थीले जानकारी दिए । ‘वडाध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी आएको छ । हामीले वडाध्यक्षलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ ’, उनले भने ।